प्यूठान, ३ कार्तिक । आजदेखि प्यूठानमा पुरानै भाडा लिनुपर्ने नियम लागु भएको छ ।
मन्त्रिपरिषद्को असोज २६ गतेको बैठकले गरेको सिट क्षमता अनुसार यात्रु राख्न पाउने र पुरानौ भाडा लिनु पर्ने निर्णय अनुसार प्यूठानमा पनि सोहि अनुसार लागु गर्ने भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले जानकारी दिनुभयो ।
सवारीले स्वास्थ्य मापदण्ड पुरा गरि सिट क्षमता अनुसारै यात्रु राख्न पाउने छन् भने पुरानै भाडादर लिनुपर्नेछ । जिल्ला प्रशासन कार्यालयमा यातायात व्यवसायीसँग भएको बैठकको निर्णय अनुसार यस्तो नियम कार्यान्वयन आएको हो । नियम उल्लंघन गर्नेलाई अनुगमन गरि कारवाहि समेत गरिने प्रजिअ भुसालले बताउनुभयो ।
यसअघि कोभिड संक्रमणलाई मध्यनजर गर्दै यात्रु क्षमता भन्दा आधा यात्रु राख्ने र ५० प्रतिशत थप भाडा लिनुपर्ने नियम बनाइएको थियो ।
यस्तै, आईतबारनै पेट्रोलियम व्यवयासी र प्रशासन वीच भएको बैठकले जिल्लामा पेट्रोलियम पदार्थको सहज आपुर्ति गर्ने निर्णय गरेको छ । चाडवाडको समयमा डिजल तथा पेट्रोलको खपत बढि हुने र नियमित आपुर्ति नभएको गुनासो बढेकाले बैठकले नियमित सहज आपुर्ति गर्ने निर्णय गरेको छ ।
