विष्णु न्यौपाने
प्यूठान, २७ भदौं । झिमरुक गाउँपालिका–७ कुताका १८ वर्षिय त्रिभुवन कुवरलाई १० वर्षदेखि पशु सरह बाँधेर राखिएको छ । २०६४ सालदेखि मानसिक समस्या देखिएपछि उपचार समेत थालियो । निको हुन नसक्दा बाँधेर राख्नु परेको परिवारका सदस्यले बाध्यता सुनाए ।
२०५९ सालमा जन्म भएको बालक शुरुमा कुनै समस्या थिएन । उमेर बढ्दै जाँदा बोल्न नसक्ने समस्या देखियो ।
‘जथाभावी नाङ्गै हिड्ने, जे मन लाग्यो त्यहि गर्ने कसैले भनेको नमान्ने गर्न थाल्यो ।’ त्रिभुवनका दाई ठगेन्द्रले भन्नुभयो, ‘उपचारका लागि बुटवल काठमाण्डौं लग्यौं, सुधार भएन ।’ मेडिकल उपचारले सुधार नभएपछि धाँमी–झाँक्रिकोमा समेत लगेको उहाँले बताउनुभयो ।
भाईको उपचारकै लागि ठगेन्द्रले भारतको राम्रो जागिर छोडेर घर आउनुभयो । भाईको उपचार थाल्नुभयो । यसैवीचमा बुवाको निधन भयो । भाईको अवस्थामा समेत सुधार भएन । अहिले ठगेन्द्र घर चलाउनै व्यस्त हुनुहुन्छ । रोजगारीका लागि अनेत्र समेत जान नपाएको उहाँ बताउनुहुन्छ ।
तीन भाई मध्यका कान्छो त्रिभुवन अरु कसैले भनेको मान्दैनन् । आमा पुतलादेवीले भनेको मात्र मान्ने भएकाले बाध्यताले बाँधेर राख्नुपरेको परिवारका सदस्य बताउँछन् ।
तस्विर ः टंक थापाको फेसबुकवालबाट ।