> राष्ट्रिय > आज विश्व रेबिज दिवस, प्यूठानमा कुकुरलाई खोप दिइदै


आज विश्व रेबिज दिवस, प्यूठानमा कुकुरलाई खोप दिइदै

प्यूठान । विश्व रेबिज दिवस २०२४ को अवसरमा जिल्लामा कुकुरलाई निशुल्क खोप दिइएको छ । एकीकृत कृषि तथा पशुपन्क्षी बिकास कार्यालय प्यूठानले असोज ६ गतेदेखी सप्ताह ब्यापी खोप तथा सचेतनामुलक कार्यक्रम गर्दै आएको हो ।

चिकित्सक सहितको टोलिले जिल्लाका विभिन्न स्थानहरुमा पुगेर रेबिज रोग नियन्त्रणका लागि कुकुरलाई खोप दिइएको कार्यालय प्रमुख उमेश श्रेष्ठले जानकारी दिनुभयो । हाल सम्म १२५ कुकुरलाई खोप दिइएको र आज अन्तिम दिन पनि खोप दिने कार्यक्रम रहेको उहाले बताउनुभयो ।

 

रेबिज के हो ?
रेबिज जनावरको टोकाइका क्रममा र्‍यालबाट सर्ने प्राण घातक रोग हो। यो रोग लागेपछि त्यसको संक्रमण स्नायू प्रणालीमा हुन्छ र रोग लागेको व्यक्ति वा जनावरले असामान्य स्वभाव देखाउँछ। बिशेषगरी यो रोगबाट संक्रमित कुकुर, विरालो, मुसा वा जंगली जनावरको टोकाइबाट सर्छ।

रेबिजबाट कसरी बच्ने
१. घरपालुवा जनावरलाई जथाभावी बाटोमा नछोड्ने ।

२. घरपालुवा जनावरलाई रेबिजविरुद्धको खोप लगाउने ।

३. त्यस्ता जनावरले टोेकेपछि साबुनपानीले कम्तीमा १५ मिनेट धुने र प्राथमिक उपचार गरी अस्पताल जाने ।

४. रेबिज विरुद्धको खोप लगाउने ।

५. कुकुरलाई नजिस्क्याउने। कुकुरले खाना खाइरहेको र बच्चालाई दूध चुसिरहेका बेला नचलाउने ।