> राजनीति > ‘अज्ञात स्थलबाट गाउँसभा सकिएको प्रचार गरियो’


‘अज्ञात स्थलबाट गाउँसभा सकिएको प्रचार गरियो’

प्यूठान, २६ भाद्र । बहुमतका आधारमा ऐरावती गाउँपालिकाको विशेष गाउँसभा सम्पन्न भनिएको गाउँसभा अज्ञात स्थलबाट भएको भन्दै १३ जना गाउँसभा सदस्यहरुले प्रेस विज्ञप्ती मार्फत आपत्ति प्रकट गरेका छन् ।

नेपालको संविधान र प्रचलित कानुन विपरित आव्हान गरिएको गाउँसभा स्थगित गरि छलफल र सम्वादद्धारा समाधान गर्न पालिका अध्यक्ष नविल विक्रम शाह र प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषाललाई लिखित र मौखिक जानकारी गराउँदा समेत नरोकिएकोमा ती जनप्रतिनिधिहरुको गुनासो छ ।

आज शुरु भएको सभामा निरन्तर रोस्टम घेराउ गर्दै विरोध जनाई सकेपछि बैठक स्थगित गरिएकोमा केहि समय पछि मिडिया मार्फत विशेष गाउँसभा सम्पन्न भएको गलत प्रचारबाजी गरि अलोकतान्त्रिक, गैर जिम्मेवार क्रियाकलाप गरिएको भन्दै आपत्ति जनाएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत वा नीजले तोकेको कर्मचारी प्रतिचनिधिसँग हुनुपर्ने माईनोट समेत ‘गुण्डागर्दी शैलीमा लुटेर अज्ञात स्थल’ लगिएको विज्ञप्तीमा उल्लेख छ । दिनको १२ बजे ‘लुटेर लगेको’ बैठक पुस्तिका दिनको ४ बजेसम्म कार्यालयमा समेत नआएको जनप्रतिनिधिहरुले बताएका छन् ।

‘सवैको समझदारी र सहकार्यका साथ गाउँको विकासका लागि दिएको मतको उच्च सम्मान गर्दछौं ।’, गाउँपालिकावासी मतदाताहरुलाई सम्बोधन गर्दै विज्ञप्तीमा भनिएको छ, ‘तर आज नेपाली कांग्रेस र रा.ज.मो. पक्षका जनप्रतिनिधिबाटै सहमति र सहकार्यको भावना तथा कानुन विपरित भएका अवान्छीत कार्यहरुलाई साथ र समर्थन दिन हामी जिम्मेवार राजनीतिक दल एवं जनप्रतिनिधिको तर्फबाट असमर्थ भएका छौं ।’

विकास र समृद्धिको बाटोमा देखिएका अवरोधहरु हटाउनका लागि यस्तो असमर्थन रहेको विज्ञप्तीमा स्पष्ट पारिएको छ । ‘आजको लागि होइन भोलीलाई व्यक्तिलाई होइन विधिलाई आत्मसाथ गरी अगाडी बढौं’ ,विज्ञप्तीमा भनिएको छ ।

गत असार १० गते सम्पन्न भएको सातौं गाउँसभाबाट सर्वसम्मत पारित नीति तथा कार्यक्रम कार्यान्वयन प्रक्रिया शुरु नगर्दै विशेष गाउँसभा बोलाउनु कानुन सम्बाद नभएको जनप्रतिनिधिहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *