> समाज > प्यूठानमा भोलिदेखी एक हप्ता निषेधाज्ञा


प्यूठानमा भोलिदेखी एक हप्ता निषेधाज्ञा

प्यूठान, ११ भाद्र । प्यूठानमा कोभिड संक्रमण समुदाय स्तरमा देखिन थालेपछि भोली शुक्रवार देखि एक हप्ताका लागि निषेधाज्ञा गर्ने निर्णय भएको छ ।

आज प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको अध्यक्षतामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले भोलीदेखी भाद्र १८ गतेसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण बढ्दै गएको, लक्षण सहित बिरामी देखिनु, वैंक तथा वित्तिय संस्थामा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि निषेधाज्ञा गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भुसालले प्यूठान समाचारसंग बताउनुभयो । संभावित टे«किङ, ट्याकिङ्ग र टेस्टिङ्गलाई अगाडी बढाउनका लागि एक हप्ता निषेधाज्ञा गर्न लागिएको उहाँको भनाई छ ।

एक हप्ताका लागि अत्यावश्यक पसल बाहेक सबै बन्द गर्ने निर्णय गरिएको छ । यस पूर्व १५ गतेसम्म बन्द गरिएको सार्वजनिक तथा नीजि यातायात तीन दिन थप गरी निषेधाज्ञा अवधिभर अर्थात भदौ १८ गतेसम्म बन्द गर्ने निर्णय भएको छ । बन्द अवधिमा अत्यावश्यक खाद्यान्न पसल, तरकारी पसल र डेरी बिहान ७ बजे देखि ९ बजेसम्म र बेलुका ५ बजेदेखी ७ बजेसम्म खोल्न दिने निर्णय गरिएको छ ।

त्यस्तै प्यूठान अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि इमरजेन्सी सेवा बाहेक अन्य सेवा बन्द गरी सम्पर्कमा आएका व्यक्तिहरुलाई आईसुलेसनमा राखी स्वाव परिक्षण गर्ने समेत निर्णय भएको प्रजिअ भुसालले बताउनुभयो ।