> स्थानीय सरकार > गाँसबासको अभावमा अपांग दम्पती परिवार : घर निर्माणमा सहयोगको अपेक्षा


गाँसबासको अभावमा अपांग दम्पती परिवार : घर निर्माणमा सहयोगको अपेक्षा

प्यूठान, १७ भाद्र । एकराज अधिकारी र उहाँको श्रीमती रेशमा अधिकारी दुवै अपाङ्ग हुनुहुन्छ ।

दुवै जना बोल्न नसक्ने हुनुहुन्छ भने एकराज शारिरीक रुपमा पनि कमजोर हुनुहुन्छ । माण्डवी गाउँपालिका–३ नयाँगाउँका निवासी एकराज दम्पतीको ती सन्तान पनि छन् ।

छोरा आकाश कक्षा ९, विकास कक्षा ६ र छोरी करिश्माले कक्षा २ मा पढ्छन । घर नजिकैको माण्डवी माध्यमिक विद्यालयमा पढ्दै आएका छन् । आर्थिक आयआर्जन र अभिभावक अपांग हुँदा उनीहरुलाई नियमित विद्यालय जानको लागि आवश्यक स्टेशनरी र पोषाक किन्न समेत समस्या हुने गरेको छ । उनीहरुको अवस्था देखेर विद्यालयले बेला बेलामा छात्रवृत्ति उपलब्ध गराउँदै आएको स्थानीय यादव अधिकारीले जानकारी दिनुभयो ।

“पहिले त ज्यालामजदुरी गरेर जीवन निर्वाह गर्थे” अधिकारीले भन्नुभयो,“एउटा हात भाँचिएपछि शारिरीक रुपमा कमजोर बने र अहिले काम गर्न पनि नसक्ने भएका छन ।” अहिले लामो समयदेखि लकडाउनले गर्दा उनीहरुले ज्यालामजदुरीको काम समेत गर्न पाएका छैनन ।

अधिकारी परिवारलाई बस्नको लागि बास(घर) समेत नहुँदा समस्या छ । भाईले बस्न दिएको सानो ठाउँ(ओसारी)मा अधिकारीको परिवार जसोतसो बाँस बस्न बाध्य छन् । एकराजले घर बनाउनका लागि आफै घडेरी समेत तयार गर्नुभएको छ । बारीको छेउमा घर बनाउने भन्दै खडेरी खनेको स्थानीय प्रकाश अधिकारीले बताउनुभयो । उहाँका अनुसार घर बनाउने भन्दै ढुंगा पनि जम्मा गर्नुभएको छ । तर घर बनाईदिने सहयोगी हातहरु पाउन सक्नुभएको छैन ।

स्थानीय पालिकादेखि जिल्लाका विभिन्न निकायमा घर निर्माणका लागि सहयोगी हात खोजिरहेको प्रकाश अधिकारीले बताउनुभयो । “श्रीमान श्रीमती मिलेर बारीमा घडेरी खनेर तयार गरेका छन” उहाँले भन्नुभयो,“सवैतिरबाट सहयोग भयो भने घर बनाउन सकिन्थ्यो ।”

लकडाउनका बेला ज्यालामजदुरी गर्ने काम समेत नहुँदा एकराजको परिवारलाई साँझ विहान खान पनि समस्या छ । स्थानीय सरकार लगायत सहयोगी निकायले दिएको खाद्यान्नबाट जसोतसो गुजारा चलाउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *