प्यूठान । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ को कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा उम्मेदवार भई तोकिएको समयभित्र खर्च विवरण पेश नगर्ने उम्मेदवारलाई ७ दिन भित्र सफाई सहितको स्पष्टिकरण पेश गर्न आग्रह गरेको छ । आज निर्वाचन आयोगले सूचना प्रकाशन गरि खर्च विवरण नबुझाउने उम्मेदवारलाई स्पििष्टकरण पेश गर्न आग्रह गरेको जिल्ला निर्वाचन कार्यालय प्यूठानका प्रमुख देविराम पाठकले जानकारी दिनुभयो ।
समन्वय प्रमुखको मात्र खर्च विवरण पेश
प्यूठानमा जिल्ला समन्वय समितिका ९ जना पदाधिकारी मध्ये समन्वय प्रमुखले बाहेक अरुले खर्च विवरण बुझाएका छ्रैनन । समन्वय प्रमुख धरम बहादुर जिसीले खर्च विवरण समयमा पेश गरेको पाठकले जानकारी दिनुभयो । आयोगको सूचना अनुसार अवको एक साताभित्र अरुले सफाई सहितको स्पष्टिकरण निर्वाचन कार्यालयमा पेश गर्नुपर्नेछ ।
८५ जना कार्यपालिका सदस्य उम्मेदवारले बुझाएनन
गाउँ तथा नगर कार्यपालिका सदस्यका लागि भएको निर्वाचनका उम्मेदवारले पनि खर्च विवरण पेश गरेका छैनन । जिल्लामा ८७ जनाले उम्मेदवारी दिएका थिए । त्यसमध्ये २ जनाले मात्र खर्च विवरण पेश गरेको जिल्ला निर्वाचन अधिकारी पाठकले जानकारी दिनुभयो ।
७९० उम्मेदवारले बुझाएनन खर्च विवरण
स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएकामध्ये ७ सय ९० जनाले खर्च विवरण बुझाएका छैनन । ९२१ जना उम्मेदवार मध्ये ३१ जनाले समयमै र १ सय जनाले ढिला खर्च विवरण बुझाएका छन् । कार्यालय प्रमुख पाठकका अनुसार यसअघि आयोगले स्पष्टिकरणका लागि सूचना निकालेकोमा ५९९ जनाले स्पष्टिकरण दिएका छन् । तर १ सय ९१ जनाले भने स्पष्टिकरण समेत दिएका छैनन ।
स्थानीय तहको निर्वाचनमा खर्च विवरण बुझाएका कार्यपालिका र जिल्ला समन्वय समितिका उम्मेदवारले सम्वन्धित स्थानीय तह तथा समन्वय समितिको कार्यालयमा सूचना प्रकाशन गर्नुपर्नेछ । उक्त जानकारी सम्वन्धित पालिका तथा समितिले निर्वाचन कार्यालयमा गराउनुपर्नेछ ।