समाज

एउटै जग्गाको दुई सिफारिसमा राजनीति पहुँचका आधारमा भिन्नता गरिएको भन्दै नगरपालिकालाई ध्यानाकर्षण

झइन्द्र भण्डरी
प्यूठान, ९ साउन । स्वर्गद्वारी नगरपालिका वडा नम्बर ५ सारीको वडा कार्यालयले राजनीति पहुँचको आधारमा सेवा सुविधा दिने र एउटै जग्गालाई पनि सिफारिस गर्दा दुईवटा सिफारिस फरक फरक दिने जस्ता व्यक्तिबादी काम गरि जनताहरूलाई भेदभाव गरेको भन्दै नेपाली काङ्ग्रेस सारीले नगरप्रमुखलाई एक पत्र बुझाउदै नगरको ध्यानाकर्षण गरेको छ ।

पहिले २०७६ साल फागुन १८ गते मोटरबाटोले नछोएको भनेर सिफारिस दिएको जग्गालाई २०७७ असार २६ गते सोही जग्गालाई मोटरबाटोले छोएको छ भनेर वडाले सिफारिस गरेको छ । वडाको यो कार्यले सेवाग्राही कर तथा जग्गा पासको प्रक्रियामा मर्कामा परेका छन् ।

ʻअहिले ४ महिनापछि त्यहाँ कुनै नयाँ मोटरबाटो नखन्दा पनि सिफारिस अनुसार कसरी बाटोले छोयो जवाफ चाहान्छौंʼ ध्यानाकर्षण पत्रमा उल्लेख छ । उक्त जग्गालाई पहिले नै मोटरबाटोले छोएको थियो तर त्यतिबेला कर तथा पास खर्च कम पर्छ भनेर व्यक्तिबादी राजनीति अनुसार वडा अध्यक्षले मोटरबाटोले नछोएको भनेर सिफारिस दिएको अहिले जग्गा किन्ने गिर बहादुर घर्तिको भनाइ छ । पहिलेको सिफारिसमा त्रुटी भएको पाएपछि यस्तो राजनीति विचारको आधारमा राज्यलाई नै असर पुग्ने कार्य भएको भन्दै ध्यानाकर्षण गराएको घर्तिले बताउनु भयो ।

ध्यानाकर्षण पत्रमा वडाले खरको छानो विस्थापित कार्यक्रम अन्तर्गत टीन वितरणमा पनि भिन्नता गरेको उल्लेख छ । वडा नम्बर ५ मा पहिले नै घरमा टीन लगाइएको घरधनीलाई आंसिक बसाई गर्ने गोठको लागि पनि टीन उपलब्ध गराईएको तर सोही अवस्थाका अन्य नागरिकलाई सोहि अवस्थामा टीन उपलब्ध नगराइएको वडा नम्बर ५ का नेपाली कांग्रेसका वडा सभापति दुर्गा बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार टीन कसले किन पायो नपाउने व्यक्तिले पायो भन्ने होइन त्यस्तो अवस्थाका सम्पूर्ण नागरिकले टीन पाउनु पर्ने माग हो । घरधनीलाई इंगित गर्दै अहिले वडा अध्यक्ष हिरामणी भण्डारीले अर्कालाई आरोप लगाई घरधनीलाई गोठमा लगाईएको टीन ओखलेर फिर्ता गर्नु पर्ने भएको गिर बहादुर घर्तीले जानकारी दिनुभयो ।

नेपाल विद्यार्थी संघ प्यूठानका उपाध्यक्ष गिर बहादुर घर्ती र नेपाली कांग्रेस सारीका सभापति दुर्गा बुढाथोकीको संयुक्त नाम उल्लेखित भएको ध्यानाकर्षण पत्र नगर उपप्रमुख गोमा रेग्मीलाई बुझाईएको छ ।

नगरप्रमुखलाई सम्बोधन गरिएको ध्यानाकर्षण पत्रमा वडा अध्यक्ष हिरामणी भण्डारीले आफूले गरेको गल्तिलाई समाजमा आफूसङ्गै वडा अध्यक्षको प्रत्यासी गिर बहादुर घर्तिको नाम जोडी समाजमा कुप्रचार गरिएको उल्लेख गरिएको छ ।

योसङ्गै नेपाली कांग्रेसले नगरपालिका कार्यपालिकाको अनियमितता , अव्यवस्थित कार्यको बारेमा ३ ओटा ज्ञापन पत्र तथा ध्यानाकर्षण पत्र बुझाएको तर अहिलेसम्म कुनैपनी विषयबस्तु तथा ज्ञापनपत्रको सुनुवाइ नभएको गुनासो नेपाली कांग्रेसका क्षेत्रीय सभापति टेक प्रसाद भण्डारीले वताउनुभयो । उहाँले भन्नुभयो ʻयो भन्दा अगाडि पनि हामीले दुईवटा ज्ञापनपत्र बुझायौं तर नगरपालिकाले कुनैपनी पत्रको बारेमा छलफल गरेन । नगरको कार्यपालिकाले पुरै बेवास्ता गरीरहेको छʼ ।

अर्काको कुरा नसुन्ने आफ्नै मनोमानीले चल्ने जनप्रतिनिधिका गैरजिम्मेवारी क्रियाकलापले नगरको विकास र समृद्ध नहुने भण्डारीले जिकिर गर्नुभयो ।

Related Articles

Back to top button