> खेलकुद > कतारमा हुने सन् २०२२ विश्वकपको मिति सार्वजनिक


कतारमा हुने सन् २०२२ विश्वकपको मिति सार्वजनिक

प्यूठान, १ श्रावण । कतारमा हुने सन् २०२२ विश्वकपको मिति सार्वजनिक गरिएको छ । प्रतियोगिता नोभेम्बर २१ मा सुरु भएर डिसेम्बर १८ मा सकिने तय भएको छ।

विगतमा जुन र जुलाईमा सञ्चालन हुँदै आएको प्रतियोगिता पहिलो पटक नोभेम्बरमा हुने भएको हो । बढी गर्मी हुने भएकाले आयोजकले २०२२ को विश्वकप नोभेम्बरमा गर्ने भएको हो । प्रतियोगिताको उद्घाटन खेल अल बायत स्टेडियममा हुनेछ । यो स्टेडियमको क्षमता ६० हजार रहेको छ ।

प्रतियोगिताको समूह चरणका बेला चार वटा खेल हुनेछन् । खेलहरु चार फरक समयमा सुरु हुनेछन् । जसमा स्थानीय समय अनुसार दिउँसो एक बजे पहिलो खेल हुनेछ भने दिउँसो चार बजे दोस्रो, साँझ सात बजे तेस्रो तथा राती १० बजे चौथो खेल हुनेछ । यस्तै नकआउट चरणका खेलहरु साँझ ६ बजे र राति १० बजे हुनेछन् । प्रतियोगिताका खेल हुने ८ रंगशालाहरु एक आपसमा ४० माइलको दुरीमा रहेका छन् । समर्थक र पत्रकारले मैदानमै पुगेर २ खेलसम्म हेर्न सक्नेछन् ।

कतारको खलिफा रंगशालामा प्लेअफ र तेस्रो स्थानका लागि खेल हुनेछन् । ८० हजार दर्शक क्षमता रहेको लुसेल रंगशालामा १८ डिसेम्बरमा स्थानीय समय अनुसार साँझ ६ बजेबाट प्रतियोगिताको फाइनल खेल सुरु हुनेछ ।

विश्वकपमा पहिलो पटक एक ठाँउबाट अर्को ठाँउमा खेल्न जाँदा हवाई जहाजको प्रयोग नहुने भएको छ । हरेक खेलस्थल पुग्न आयोजकले सवारी व्यवस्था मिलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *