प्युठान, १४ बैशाख । कोरोना सङ्क्रमण पुष्टी भएसँगै होम आइसोलेसनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ ।
सरुमारानी गाउँपालिका-१ बाङ्गेशालका ४२ वर्षीय पुरुषको मङ्गलबार विहान मृत्यु भएको सरुमारानी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझीले जानकारी दिनुभयो ।
“१५ दिन अगाडी भारतबाट घर आउनुभएको थियो,” स्वास्थ्य शाखा प्रमुख रायमाझीले भन्नुभयो,“होम क्वारेन्टाइनमा बसिरहनुभाथ्यो ।” विरामी भएपछि उपचारका लागि दाङको घोराही जानुभएको हो । घोराहीमा बैशाख १२ गते पिसीआर जाँच गर्दा सङ्क्रमण पुष्टी भएपछि थप उपचारका लागि बुटवल रिफर गरिएको थियो ।
रायमाझीका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि ठाउँ नभएपछि अरु ठाउँमा रिफर गरिएको थियो । त्यहा पनि उपचारका लागि बेड नभएपछि सोमबार राती ११ बजे घर फर्किएर आउनुभएको थियो । मंगलबार विहान करीव ७ बजे उहाँको निधन भएको रायमाझीले जानकारी दिनुभयो ।
