प्यूठान, १८ असार । योजना अनुगमनको क्रममा खैराकोट पुग्नुभएका प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतीसँग यहाँका स्थानीयले खैराकोटको संरक्षण नभएको भन्दै गुनासो गरेका छन् ।
जिल्लाका विभिन्न कोटहरुको संरक्षणमा बजेट विनियोजन भएको खवरहरु आफुहरुले सुने पनि खैराकोटको संरक्षणमा कसैको ध्यान नगएको स्थानीय दिलिप जि.सी.ले गुनासो गर्नुभयो ।
‘विभिन्न कोटहरु मध्य खैराकोटको देवीलाई जेठि दिदिको रुपमा मानिन्छ ।’ ,उहाँले भन्नुभयो, ‘संरक्षणको अभावले यहाँ भएका पुरातात्विक महत्वका सामाग्रीहरु हराएका छन् ।’
धार्मिक महत्व बोकेको खैराकोटमा बडा दशैंको नवमीमा विशेष पुजाआजा हुने गर्दछ । खैराकोट पुग्ने जो कोहिले प्राकृतिक सौन्दर्यताको आनन्द लिँदै झिमरुक उपत्यका सहित विभिन्न हिमालहरुको दृष्यावलोकन गर्न सकिन्छ ।
खैराकोट क्षेत्रको अवलोकन पछि मेयर कक्षपतीले डिपिआर तयार गरी संरक्षणको कार्य अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कोट मन्दिर संरक्षणका लागि वडा कार्यालयबाट एक लाख रुपैंया विनियोजन भएको वडा अध्यक्ष रमेश कुमार आचार्यले बताउनुभयो ।





