बोम बहादुर परियार
प्यूठान- आज स्वास्थ्य कार्यालय प्यूठानको आयोजनामा कोभिड-१९ को नमुना संकलन सम्वन्धी एकदिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।
प्यूठान जिल्लाका स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्र र मेडिकल ल्याब एसोसिएसन अफ नेपाल (मेलान) प्रदेश नम्बर ५ प्यूठानका प्रयोगशाला कर्मिहरुलाई पि.सि.आर विधि र आर.डि.टि विधिबाट कोरोना जाँचको लागी नमुना कसरी संकलन गर्ने भन्ने बिषयमा तालिम दिईएको हो । स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीबाट ९ जना र मेलानबाट ७ जना गरि जम्मा १६ जना प्रयोगशाला कर्मिहरुले तालिम लिएका हुन ।
प्यूठान जिल्लामा कोभिड १९ को संक्रमण अहिले सम्म नदेखिएता पनि आइपर्न सक्ने जोखिमलाई सहजै समाधान गर्न सकियोस् र प्रयोगशालाकर्मी अभाव कम गर्न तालिमको आयोजना गरेको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विसाल सुबेदिले बताउनु भयो । उहाँले भन्नुभयो “यसअघि पनि जिल्लाका केहि प्रयोगशाला कर्मिहरुलाई तालिम दिएको र छुटेका थप कर्मचारी र मेलान प्युठानले पनि सहयोग गर्न खोजेको हुदा थप दोस्रो पटक तालिमको आयोजना गरेको हो । ” भोलीका दिनहरुमा प्रयोगशालाकर्मी परिचालन गर्न, नमुना सङ्कलन गर्न, कन्ट्र्याक्ट ट्रेसिङ्ग्, केस अनुसन्धान, र विपद् ब्यवस्थापन कार्यमा थप सहज हुन समेत सुबेदिले बताउनु भयो ।
त्यस्तै मेलान प्यूठानका अध्यक्ष विनोद केसीले कोभिड १९ को महामारीलाई नियन्त्रण गर्नको लागी केन्द्र देखि स्थानिय तहसम्म मेलानले सहयोग गर्दै आईरहेको बताउनु भयो । जिल्लामा प्रयोगशाला कर्मिहरुको अभावभए जस्तोसुकै अवस्थामा पनि सहयोग गर्ने उहाँले बताउनु भयो ।
त्यस्तै तालिमको सहजिकरण गर्दै प्यूठान अस्पतालका प्रयोगशाला प्रमुख डोर बहादुर खड्काले जिल्लामा अहिले पि.सि.आर विधिबाट कोरोना जाँच गर्नको लागी प्राए नाकबाट स्वाब सन्कलन गर्ने गरेको बताउनु भयो । अबको अवस्था भनेको धेरै जोखिम रहेको हुदा सबै स्वास्थ्य कर्मिहरु र प्रयोगशालाकर्मिहरुले पि.पि.ई प्रयोग गर्दै सुरक्षित भई काम गर्न अनुरोध गर्नुभएको थियो ।
साथै अभिमुखिकरण तालिमको अवसरमा स्वास्थ्य कार्यालयका एक कर्मचारीको न्याजल स्वाब समेत सङलन गरिएको छ । जस्को नतिजा पर्सिसम्म आउने स्वास्थ्य प्रमुख सुबेदिले बताउनु भयो । स्वास्थ्य कार्यालय प्यूठानको हलमा सम्पन्न कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय प्यठानका कौशलराज बैद्यले गर्नुभएको थियो ।
