> समाज > सहयोग संकलनबाट विपन्न परिवारको लागि आवास निर्माण


सहयोग संकलनबाट विपन्न परिवारको लागि आवास निर्माण

प्यूठान । मल्लरानी गाउँपालिका–५ टाकुराका विपन्न परिवारको लागि सहयोग संकलन गरेर आवास निर्माण गरिएको छ । आवास विहिन जानका गिरीको लागि आवास निर्माण गरिएको हो ।

 

सहयोग संकलन गरि कुल ४ लाख ३४ हजार ४६७ रुपैंयामा घर निर्माण गरिदिएको स्थानीय गुणेन्द्र बस्नेतले जानकारी दिनुभयो । २ लाख ७४ हजार ९६ रुपैया नगद र १ लाख ५२ हजार ३५८ रुपैंया अन्य सहयोग जुटाएर आवास निर्माण गर्दा ८ हजार १३ रुपैंया अझै अपुग भएको उहाँले बताउनुभयो । बेन्जुन बस्नेत र पत्रकार बोमबहादुर परियारको सक्रियतामा विभिन्न व्यक्तिहरुको सहयोगमा घर निर्माण सम्भव भएको भन्दै उहाँले धन्यवाद ज्ञापन समेत गर्नुभयो ।

जानका छोरा सुरेशसँग बस्दै आएकी छन् । लामो समय भारतमा रहेकी जानका भारतका श्रीमान्को मृत्यु भएपछि केहि वर्ष पहिले घर फर्किएकी थिइन् । घर आउँदा बस्ने आवास नहुँदा उनी छिमेकीको गोठमा बस्दै आएको पाइएपछि आवास निर्माणका लागि सहयोग अभियान संचालन गरिएको पत्रकार बोमबहादुर परियारले जानकारी दिनुभयो ।