प्यूठान । इन्धन र निर्माण सामाग्रीहरुमा निरन्तर भइरहेको अत्यधिक मूल्यवृद्धि एवं अभावले ठूलो आर्थिक भार परेको भन्दै निर्माण उद्योगमा “आपतकाल” घोषणा गर्ने व्यवसायीहरुले माग गरेका छन ।
प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री समक्ष आपतकाल घोषणाको माग गरिएको निर्माण व्यवसायी संघ प्यूठानका अध्यक्ष नवीन कुमार श्रेष्ठले जानकारी दिनुभयो । इन्धनजन्य सामाग्रीहरु सहित निर्माण कार्यमा व्यापक प्रयोग हुने विटुमिन, सिमेन्ट, डण्डी लगायतका निर्माण सामाग्रीहरुमा समेत निरन्तर भइरहेको अप्रत्याशित एवं अत्यधिक मूल्यवृद्धि र बजारमा उक्त सामाग्रीहरुको अभावले निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको उहाँले बताउनुभयो ।
अत्यधिक मूल्यवृद्धि भएतापनि राष्ट्र बैंकको इन्डेक्समा उक्त सामाग्रीहरुको मूल्य घटेको देखाइने प्रचलनका कारण निर्माण उद्योगमा थप संकट देखिएको संघले जनाएको छ ।

