प्यूठान । ऐरावती गाउँपालिका वडा नम्वर १ स्थित आगलागी पिडीत परिवारलाई राहत वितरण गरिएको छ । गत चैत २१ गते राती भएको आगलागीबाट विस्थापित परिवारलाई शुक्रबार राहतस्वरुप नगद प्रदान गरिएको हो ।
नौ परिवारलाई जनही ३० हजार रपैयाका दरले राहत प्रदान गरिएको ऐरावती गाउँपालिका अध्यक्ष एवं पालिका स्तरीय विपद व्यवस्थापन समितिका संयोजक नविल विक्रम शाहले बताउनुभयो । हेफर ईन्टरनेशनल नेपालबाट दुई लाख रुपैयाँ र मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रबाट ७० हजार रुपियाँ रकम राहत प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।
बिस्थापित परिवारलाई आयआर्जनसंग जोड्न कार्यक्रम संचालन गर्ने तयारी रहेको मल्लरानी ग्रामीण बिकास सरोकार केन्द्रका कार्यकारी प्रमुख बिजय कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
आगलागीबाट २२ घरगोठ जलेर नष्ट भएका थिए । आगलागीबाट ९५ लाख ५० हजार रुपियाँ बराबरको क्षति भएको प्रहरीको तथ्यांक छ ।
पिडित परिवारलाई हालसम्म गाउँपालिका, नेपाल रेडक्रस सोसाईटी, प्यूठान उद्योग वाणिज्य संघ, राष्ट्रिय स्वतन्त्र पार्टी, जी २५ क्लव बुटवल लगायतले राहत प्रदान गरेका छन । गाउँपालिकाले तत्कालका लागि ५ जनासम्म सदस्य भएका परिवारलाई २५ हजार र सो भन्दा बढी परिवार सदस्य भएकालाई २७ हजार ररुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरि प्रक्रिया अघि बढाइएको अध्यक्ष शाहले बताउनुभयो ।
आगलागीबाट विस्थापित परिवारलाई पुर्नस्थापनाका लागि समेत पालिकाले प्रदेश र केन्द्र सरकारसँग समन्वय अघि बढाएको छ । विस्थापितहरुको आयआर्जनका लागि समेत पालिकाले कार्यक्रम अगाडी बढाउने तयारी थालेको वडा अध्यक्ष अमर रेश्मीमगरले बताउनुभयो ।
विस्थापित परिवार अहिले आफन्तकोमा बस्दै आएका छन ।
