> समाज > प्यूठानमा एक गर्भवती महिलाको ज्यान गयो


प्यूठानमा एक गर्भवती महिलाको ज्यान गयो

श्रीराम भण्डारी
प्यूठान । समयमै उपचार नपाउँदा प्यूठानमा एक गर्भवती महिलाको ज्यान गएको छ । नौबहिनी गाउँपालिका वडा नं. ६ की ३३ वर्षिय आसा वि.क.को ज्यान गएको हो ।

 

सामान्य अवस्थामा सुत्केरी हुन नसक्दा उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ज्यान गएको पारिवारिक श्रोतले जनाएको छ । ‘स्वास्थ्य चौकीमा लग्यौं, त्यहाँबाट प्यूठान अस्पताल लग्यौं, त्यहाँ पनि नहुने भएपछि बुटवल पु¥याएका थियौं ।’ ,आसाकी देउरानी रेखाले भन्नुभयो, ‘लुम्बिनी प्रादेशिक अस्पताल पुग्दा आमा र बच्चा दुवैको एक घण्टा अघि नै ज्यान गइसकेको अस्पतालले भन्यो ।’ नियमित स्वास्थ्य जाँच र समयमै स्वास्थ्य चौकी पु¥याए पनि ज्यान गएको कारण बारे भने थाहा नभएको उहाँले बताउनुभयो । मंसिर १६ गते जिल्ला अस्पताल पुगेर भिडियो एक्सरे गर्दा अवस्था सामान्य नै रहेको स्वास्थ्यकर्मीहरुले बताएको उहाँले जानकारी दिनुभयो ।

 

आइतबार विहान ९ बजे आसा स्वास्थ्य चौकी आइपुगेको लुङ स्वास्थ्य चौकीका इन्चार्ज गोविन्द बहादुर केसीले बताउनुभयो । ‘११ बजेदेखि व्यथा लाग्न शुरु भएको थियो, बच्चा र आमा दुवैको अवस्था नर्मल थियो ।’ ,उहाले भन्नुभयो, ‘पाठेघरको मुख खुल्दै गएपनि दुखाई बढि भएको, आमाले बल गर्न नसकेको र प्रेसर पनि बढ्न थालेपछि रिफर ग¥यौं ।’ एम्बुलेन्स आउन ढिलाई हुने भन्दै परिवारका सदस्यले स्थानीय सवारी जीपमा उनलाई जिल्ला अस्पताल पु¥याएका थिए ।

 

समस्या जटिल देखिएपछि तत्कालै रिफर गरिएको प्यूठान अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन सुवास पौडेलले बताउनुभयो । ‘जिल्ला अस्पतालमा आईसीयु नभएकाले अप्रेसन गर्ने अवस्था थिएन ।’ ,पौडेलले भन्नुभयो, ‘सुरक्षित सुत्केरी गराउनका लागि उपल्लो निकायमा रिफर गरेका हौं ।’

लुम्बिनी प्रादेशिक अस्पताल पु¥याए पनि अस्पतालले आमा र बच्चाको दुवैको ज्यान गइसकेको बताएको थियो । आसाका तीन वच्चा छन् ।