> राजनीति > नेकपाको एकता सभा सम्पन्न, संविधानका उपलब्धिहरु कार्यान्वयन गर्नुपर्नेमा जोड


नेकपाको एकता सभा सम्पन्न, संविधानका उपलब्धिहरु कार्यान्वयन गर्नुपर्नेमा जोड

प्यूठान । नेपाली कम्युनिष्ट पार्टी प्यूठानले विजुवारमा एकता सन्देश सभा सम्पन्न गरेको छ । सभालाई सम्बोधन गर्दै पार्टीका नेताहरुले संविधानका उपलब्धिहरु कार्यान्वयनमा जोड दिएका छन् ।

 

‘संविधानले लोकतान्त्रिक मुल्य मान्यता सहितको समाजवाद निर्माण भनेको छ, हामीले त्यहि संरचना खडा गर्ने हो ।’ ,सभालाई सम्बोधन गर्दै पार्टी नेता बामदेव गौतमले भन्नुभयो, ‘जेनजी आन्दोलनले उठाएका माग पनि त्यहि हुन्, क्रान्तिहरु भए अव उपलब्धिहरु कार्यान्वयनमा लैजान आवश्यक छ ।’ ‘नेपालको सार्वभौम र राजकीय सत्ता नेपाली जनतामा निहित’ भन्ने विषय संविधानमै उल्लेख भएकाले जनचाहना अनुसार पार्टी एकीकरण गरिएको उहाँको भनाई थियो ।

 

संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाली क्रान्तिका आजसम्मका उपलब्धी, नेपालको कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गरी नेपाललाई बैज्ञानिक समाजवादको अवस्थासम्म पु¥याउने उद्दे्रश्यका एकता अभियान अघि बढाएको पार्टीका नेता डा.बेदुराम भुसालले बताउनुभयो । सबै कम्युनिष्ट शक्तिलाई एक ठाँऊमा ल्याउने र आफुहरु नै नेपालको कम्युनिष्ट आन्दोलनको मुलधारको पार्टी हुन उहाँको दावि थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका नेता चक्रपाणि खनालले नयाँ योजना र नीतिका साथ कम्युनिष्ट पार्टी एकताबद्ध भएको भन्दै एकल प्रतिपर्धाबाट अब मुलुकको नेतृत्व गर्ने उल्लेख गर्नुभयो ।

 

केपि ओलीको दम्भ र अहंकारका कारण पहिले पार्टीको एकीकरण टिक्न नसकेको भन्दै पार्टी नेतृ रेखा शर्माले विगतको समिक्षा गर्दै पार्टी एक ढिक्का भएर समाजवादको यात्रा तय गर्ने विश्वास दिलाउनुभयो । विगतका गल्ती कमजोरीलाई आत्मसमिक्षा गर्दै पार्टीले अघि सारेर पुरा गर्न नसकेका मुद्धाहरु र जेनजी आन्दोलनका मुद्धाहरु पार्टीको नीति तथा कार्यक्रममा समेटेर अघि बढ्ने उहाँले बताउनुभयो ।

 

सभालाई पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व सांसद कृष्णध्वज खड्काले पनि सम्बोधन गर्नुभएको थियो । पार्टी जिल्ला संयोजक प्रभात केसीको अध्यक्षता र कृष्ण अधिकारी (प्रकाश)ले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन जिल्ला सहसंयोजक भोजविक्रम बुढाले गर्नुभएको थियो ।