> राजनीति > राजमोले भोलिदेखि देशव्यापी आन्दोलन गर्ने


राजमोले भोलिदेखि देशव्यापी आन्दोलन गर्ने

प्यूठान, २५ जेठ । राष्ट्रिय जनमोर्चाले भोलिदेशी देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।

मिलिनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) सम्झौताको विरुद्ध जनमोर्चाले आन्दोलनको कार्यक्रम तय गरेको हो ।
एमसीसी हिन्द प्रशान्त रणनीतिको अंग हो भन्ने कुरा स्वयम् अमेरिकी सरकारी अधिकारीहरुले बोलिसकेका छन्, प्रेस वक्तव्यमा भनिएको छ, त्यो हिन्द प्रशान्त रणनीतिको अंग हो भन्ने कुरा सम्झौतामा उल्लेख भएका विषयहरुबाट पनि प्रष्ट हुन्छ ।

नेपाल सरकारले त्यसरी प्रष्ट भएको विषयलाई हिन्द प्रशान्त रणनीतिको अंग नभएको भन्ने भ्रम पैदा गरी संसदबाट पारित गराउने प्रयत्न गरिरहेको जनमोर्चाले जनाएको छ ।

देशमा एमसीसी पारित भएमा नेपालले अहिलेसम्म अपनाउँदै आएको असंलग्न परराष्ट्र नीति समाप्त भई अमेरिकी साम्राज्यवादको खेमामा प्रवेश गर्ने जनमोर्चाको भनाई छ । त्यसरी नेपाल अमेरिकी साम्राज्यवादको गतिविधि गर्ने स्थल बन्ने छ । त्यसबाट नेपालको सार्वभौमिकता, स्वतन्त्रता र स्वाधीनतामा चुनौति सृजना हुनेछ, वक्तव्यमा भनिएको छ, त्यसैले एमसीसी पारित गर्न खोज्नु गम्भीर राष्ट्रघात हुनेछ ।

आन्दोलनको कार्यक्रमलाई सम्भव भएसम्म एमसीसी विरोधी बिभिन्न पक्षहरुसित सहकार्य गरी सम्पन्न गरिने र त्यसरी सम्भव नभएमा राष्ट्रिय जनमोर्चाको एक्लैको आयोजनामा कार्यक्रम गरिने उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *