प्यूठान । नेकपा (मसाल)का महामन्त्री मोहन विक्रम सिंहले राष्ट्रिय जनमोर्चाले कसैसँग चुनावी तालमेल नगर्ने स्पष्ट पार्नभएको छ । शुक्रबार प्यूठानमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले अहिलेको सरकार असंवैधानिक भए पनि निर्वाचनलाई उपयोग गर्ने पार्टीको नवौं महाधिवेशनले नीति अख्तियार गरेकोले आफ्नो चुनावी मोर्चा राष्ट्रिय जनमोर्चाले कसैसँग चुनावी गठबन्धन नगर्ने उल्लेख गर्नुभएको हो ।
विगतका निर्वाचनहरुमा गठबन्धन गरेका दलहरुबाट धोका भएको भन्दै उहाँले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा एक्लै प्रतिष्पर्धा गर्ने बताउनुभयो । ‘एमालेसँग पनि तालमेल ग¥यौं, ५ दलसँग पनि संयुक्त तालमेल ग¥यौं ।’ ,उहाँले भन्नुभयो, ‘सहमति भएका विषय हामीले इमान्दारी पुर्वक, दृढताका साथ पालना ग¥यौं तर उनीहरुले हाम्रो पार्टीका उ्रम्मेदवार विरुद्ध बागि उम्मेदवार खडा गरे ।’ गत चुनावमा पाँच दलिय गठबन्धनमा प्यूठान र बाग्लुङमा दुई सिट लिएर देशभर गठबन्धनलाई सहयोग गरे पनि प्यूठानमा धोका भएको उहाँले उल्लेख गर्नुभयो ।
‘प्रचण्ड नेतृत्वको माओवादी, माधव नेपालको पार्टीले धोका दियो ।’ ,महामन्त्री सिंहले भन्नुभयो, ‘कांग्रेसमा दुई वटा ग्रुप रहेछ, संस्थापन पक्ष बलियो भएकोले बाग्लुङमा जित्यौं, संस्थापन इतर पक्ष बलियो भएकोले प्यूठानमा हाम्रो उम्मेदवारलाई हराइयो ।’ आफुहरुको थोरै भोट भएपनि चुनाव हारजितलाई देशभर प्रयाप्त भएका भन्दै उहाँले विगतका अनुभवलाई हेरेर यसपालि देशभर एक्लै प्रतिष्पर्धा गर्ने बताउनुभयो ।
एक्लै प्रतिष्पर्धा गर्दा अन्य पार्टीको आलोचना गर्न, भण्डाफोर नीति कार्यान्वयन गर्न, कार्यकर्ता परिचालन गर्न, समानुपातिक तर्फको मत संरक्षण गर्न सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । अन्य दलहरुसँग आफ्नो पार्टीको मतभेद भए पनि सहमतिमा आफुहरु इमान्दार भएको उहाँले जिकिर गर्नुभयो । ‘समहतिका विषयमा हामी इमान्दारि पुर्वक कार्यान्वयन गर्छाै ।’ ,उहाँले भन्नुभयो, ‘कोशी प्रदेशमा एमालेका मुख्यमन्त्रीलाई मतदान नगर्ने सांसदलाई हामीले हटायौं, यो हाम्रा इमान्दारिता हो ।’
विदेशी हस्तक्षपका कारण गलत तत्वले निर्वाचनको फाइदा लिँदै आएको भन्दै मसालका महामन्त्री सिंहले जनताको चेतना स्तर उठाउन लाग्नुपर्नेमा जोड दिनुभयो । ‘राष्ट्रिय स्वतन्त्र पार्टीले अमेरिकाबाट करोड रुपैंया प्राप्त गर्छ, राजावादीहरुले दरबारबाट, मधेशवादी शक्तिहरुले भारतबाट पैसा पाएका छन् ।’ उहाँले भन्नुभयो, ‘पैसाका कारणले देशमा गलत तत्वले बारम्वार चुनाव जित्दै आएकोले जनताको चेनता उठाउन लाग्नुपर्छ, जनताको चेतना उठ्यो भने गलत तत्वले चुनाव जित्दैन ।’ भदौं २२ गते भएको जेनजी आन्दोलनका मुद्धाहरु सहि भएको भन्दै उत्पन्न परिस्थितिको तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्मेवारी लिनुपर्ने उहाँको भनाई थियो । सामाजिक संजालमा प्रतिबन्ध लगाउन नहुने, भ्रष्टाचार रोक्नुपर्ने, सुशासन कायम गर्नुपर्ने जस्ता जायज मागहरु राख्ने जेनजीहरुको आन्दोलनमा अमेरिकी घुसपैठका कारण भदौं २४ गते आन्दोलन विध्वंंसको दिशामा अघि बढेको उहाँले बुझाई थियो ।
‘प्रचण्डले कम्युनिष्ट पार्टीहरुको ध्रुविकरणका लागि गरेको आव्हानमा तपाईको पार्टी सामेल हुन्छ ?’ भन्ने पत्रकारको प्रश्नमा उहाँले आफुहरु सामेल नहुने बताउनुभयो । प्रचण्डको नेतृत्वमा गठन भएको नेपाली कम्युनिष्ट पार्टी कम्युनिष्ट पार्टीहरु वीचको वास्तविक एकता नभएको उहाँको जिकिर थियो । ‘यो चुनाव कसरी जित्ने भनेर बनाइएको मोर्चा हो ।’ ,उहाँले भन्नुभयो, ‘कम्युनिष्ट सिद्धान्त, नीतिको कुनै मतलव छैन ।’
