प्यूठान । नेपाल सरकारले आव २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम मार्फत `सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र´ बनाउने घोषणा कार्यान्वनका लागि जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम भएको छ ।
मानव सेवा आश्रमको आयोजना र जिल्ला समन्वय समितिको समन्वयमा अन्तरक्रिया भएको हो । सडक आश्रित मानवहरुका लागि नाना, खाना, छाना र स्वास्थ्यको प्रबन्ध आश्रमले प्रदान गर्दै आएको मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारीले बताउनुभयो ।
आश्रमले २१ जिल्लामा २७ वटा सेवा केन्द्रबाट २ हजार बढिलाई सेवा दिदै आएको छ । स्थानीय सरकारसँग सडक बालबालिका, अनाथ, असहाय, अशक्त र मानसिक असन्तुलन भएका ब्यक्तिहरुको पुनः स्थापना केन्द्र संचालन तथा ब्यबस्थापनको अधिकार भए पनि आफैले केन्द्र संचालन गर्ने भन्दा संचालन भएका केन्द्रहरुलाई सबै पक्षबाट सहयोग भएमा प्रभावकारी हुने मल्लरानी गाउपालिकाका उपाध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो ।
मानव सेवा आश्रमले मात्र सडकमा रहेका मान्छेको संरक्षण गर्न नसक्ने भएकाले सबै पक्षको सहयोग आवश्यक रहेको माण्डबी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले बताउनुभयो । राज्यले निति मात्र बनाएर नहुने जिम्मेवार बन्नुपर्नेमा उहाँको जोड थियो ।
जिल्लामा सडक बालबालिकाको संख्या भन्दा मानसिक समस्याका कारण सडकमा आश्रित मानिसहरु देखिने भएकाले स्थानीय सरकारले ब्यबस्थापन गरि सेवा केन्द्रसम्म पुर्याउने ब्यबस्था मिलाउनुपर्ने प्यूठान क्याम्पसका प्रमुख कल्पना खड्काले उल्लेख गर्नुभयो ।
दाङ र रुपन्देहीमा संचालित सेवा केन्द्रमा जिल्लाका ६ महिला र ३ पुरुष गरि ९ जना रहेको मानव सेवा आश्रमले जनाएको छ । स्वर्गद्वारी नगरपालिकाका ५, प्यूठान नगरपालिका, मल्लरानी, माण्डबी र झिमरुक गाउँपालिकाका १/१ जना रहेका छ्न । त्यस्तै प्यूठान घर बताउने ५ जनालाई बुटवलबाट उद्दार गरि आश्रममा राखिएको आश्रमले जनाएको छ ।
अन्तरक्रिया कार्यक्रमा जनप्रतिनिधि, राजनितीक दल, सामाजिक संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
