> समाज > धनन्जय गोत्रिय भण्डारीहरुको कुलपुजा लुप्लुङ्गमा हुँदै, आजदेखि मदिरा निषेध


धनन्जय गोत्रिय भण्डारीहरुको कुलपुजा लुप्लुङ्गमा हुँदै, आजदेखि मदिरा निषेध

श्रीराम भण्डारी
प्यूठान । नेपालभर छरिएर रहेका धनन्जय गोत्रिय भण्डारीहरुको ऐतिहासिक कुलपुजा प्यूठानको नौबहिनी गाउँपालिका–८ लुप्लुङ्गमा हुँदैछ । भण्डारीहरुको उद्गम स्थल मानिने लुप्लुङ्गमा ५ वर्षको अन्तरमा हुने कुलपुजा यहि मंसिर ११ र १२ गते हुँदैछ ।

 

कुलघरलाई राष्ट्रिय सङ्ग्राहलयको रूपमा विकास गरिँदैछ । जुम्लाको सिन्जा, रुकुम हुँदै प्यूठान आइपुगेका रिजालहरू पछि भण्डारीमा परिणत भएको जानकारहरु बताउँछन् । झुलेनीमा बसोबास गरिरहँदा तत्कालीन बाइसे चौबिसे राज्य अन्तर्गत भित्रीकोटे राजाले दरबारमा रहेको भण्डारको जिम्मेवारीमा रहेकोले भण्डारी उपाधि दिएको किमदन्ती छ ।

 

यो कुलपुजा समाबेशि खालको हुन्छ । कुलपुजामा अन्य जातिको समेत सहभागिता रहने गर्दछ । भण्डारीको कुल पुजा सङ्गै जलबराहा समेतको पुजा हुन्छ । यहाँ पुजामा सहभागी बनी भाकल गर्दा मनोकांक्षा पूरा हुने जनबिश्वास छ । धेरै भक्तजनहरु आफुले भाकल गरेको पूरा भयो भनी पुनः आउने गर्दछन् । यहाँ विभिन्न झाँकि, धामि, नियमित पुजा, भाकल र बोकाको बलि दिने गरिन्छ ।

 

पुजारी तथा लुप्लुङ्ग लगायतका बन्धुबान्दब देवाली पक्ष लागेदेखि चोखो खाने शुद्ध रहने गर्दछन । मङ्सिर सप्तमि र अष्ठमि तिथिमा हुने कुलपुजामा करिब ५ हजार बढि बोकाको बलि दिने प्रचलन रहेको छ । देशका धेरै जिल्लामा बसोबास गर्ने भण्डारीहरुको महत्वपूर्ण र ऐतिहासिक देवाली लुप्लुङ्गमा हुने गर्दछ । देशभर रहेका भण्डारीले लुप्लुङ आफ्नो उद्गम स्थल रहेकाले श्रद्धा प्रर्कट गर्ने गर्दछन । कुलपुजामा आउने भक्तजनहरुले आफ्नो भाकल पूरा गराउन ध्वजा, भेटि, नगद, सुनका ध्वजा, फलफुल, घण्टि लगायत बहुमुल्य धातु समेत अर्पण गर्ने प्रचलन रहेको छ ।

 

लुप्लुङ्गमा बस्ने आम नागरिकले आफुले पालेको बाख्राबाट जन्मिएका पाठा अन्यत्र बेच्न नहुने, ५ बर्षमा हुने कुलपुजामा र लुप्लुङ्ग स्थित देबि देवताका मन्दिरमा मात्रै वलि दिने, खिर पकाउन नहुने, कार्तिक–चैत्र महिनामा ताजा दुध खान नहुने जस्ता रोचक संस्कार बिधमान छ ।

 

हजारौं भक्तजन आउने देवाली कुलपुजालाई ब्यबस्थित बनाउन, शान्तिपूर्ण, मर्यादित रुपमा संचालन गर्न समिति गठन गरिएको छ भने वडा कार्यालय, स्थानीय सरोकारवालाले भूमिका निर्वाह गर्दै आएका छन् । अहिले पुजाका लागि कुलघर तथा मन्दिर (गौरा) निर्माण, पुनः र्निर्माण तथा रङ्गरोगनको काम हुँदैछ ।

 

कुल पुजा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न यहाँ मदिराजन्य बस्तु किनबेच तथा सेवनमा पुर्णरुपमा रोक लगाउन वडाले सार्वजनिक सूचना जारी गरेको छ । हरेक परिवारले आफ्नो पुजाका अबसरमा घर सरसफाइ सहित चोखनितमा ब्यस्थ छन् ।