प्यूठान । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आव्हान गरेको यातायात बन्दका कारण सोमबार विहानैदेखि प्यूठान सहित देशभरका सार्वजनिक यातायात ठप्प रहेका छन् । संविधान विपरीत प्रदेश सरकारहरुले ऐन नियमावली बनाएको भन्दै यातायात व्यवसायीहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
माग सम्बोधन नभएको भन्दै उनीहरुले आजदेखि देशव्यापी अनिश्चितकालका लागि आफ्ना सवारी साधनहरु घर ग्यारेजमा थन्क्याई आन्दोलन गर्ने घोषणा गरेका थिए ।
२०७४ सालमा सरकारले यातायात क्षेत्रलाई व्यवस्थित गर्ने भन्दै संघ समितिलाई निलम्बन गरी सम्पत्ति रोक्का गरी कम्पनीमा रुपान्तरण गर्दा यातायात क्षेत्र नै अस्तव्यस्त भई हजारौं यातायात व्यवसायी पलायन भएको व्यवसायीको भनाइ छ । आफ्ना माग पूरा नभए सार्वजनिक यातायात क्षेत्रको १३ खर्ब लगानी जोखिममा पर्ने उनीहरुले बताउँदै आएका छन् । यस क्षेत्रमा १५ लाखले प्रत्यक्ष रोजगारी पाएको र ४० लाख परिवार सार्वजनिक यातायात क्षेत्रमा आश्रित रहेको व्यवसायीको दाबी छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल यातायत स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघले सयुक्त रुपमा सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति गठन गरेर ७ बुँदे माग सहित आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
