प्यूठान । जिल्लामा आगलागीका घटनामा संलग्न भएको भन्दै ८ जना पक्राउ परेका छन् । जिल्लाका विभिन्न स्थानहरुबाट पक्राउ परेका ४ जना विरुद्ध मुद्धा प्रक्रिया अघि बढाईएको छ भने ४ जना उपर अनुसन्धान भैरहेकोछ ।
जिल्ला प्रहरी कार्यालय, डिभिजन वन कार्यालय र स्थानीयवासीहरुको सचेतना र सक्रियतामा आगलागीमा संलग्नहरु पक्राउ परेको डिभिजन वन कार्यालय प्यूठानका अधिकृत हरि पौडेलले बताउनुभयो । विगतका वर्षहरुमा भन्दा यस वर्ष घटना पनि धेरै भएको र पक्राउ पर्नेहरु संख्या पनि धेरै भएको उहाँको भनाई छ । विगतका वर्षहरुमा १÷१ जना कारवाहीको दायरामा परेका थिए ।
सरुमानी गाउँपालिका-४, ऐरावती गाउँपालिका-५, प्यूठान नगरपालिका-४ र १० का १/१ जना र प्यूठान नगरपालिका-९ र गौमुखी गाउँपालिका-६ का २/२ जना पक्राउ परेका हुन् ।
के हुन्छ कारवाही ?
वन ऐन २०७६ को परिच्छेद१५ दफा ४९ (घ) बमोजिम वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कारवाही हुने व्यवस्था छ ।
सोहि ऐनको दफा ५० (४) अनुसार उक्त कसुर गर्नेलाई क्षति भएको विगो असुल गरी तीन वर्षसम्म कैद वा साठी हजार रुपैंयासम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।