प्यूठान । प्यूठान उद्योग बाणिज्य संघ अन्तरगतका ९ वटै बजार क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । सोमवार नौबहिनी बजार क्षेत्रको अधिवेशन सम्पन्न भएसँगै सबै बजार क्षेत्रको अधिवेशन सम्पन्न भएको छ ।
बजार क्षेत्रका साथै एशोसियट र बस्तुगत तर्फको अधिवेशन पनि सम्पन्न भएको छ । बजार क्षेत्रका अध्यक्ष र प्रतिनिधि जिल्ला सदस्य हुने व्यवस्था छ ।
पदाधिकारीको लागि चैत्र २ गते अधिवेशन हुँदैछ । महेन्द्र माध्यमिक विद्यालय खलंगामा हुने अधिवेशनले अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्धतिय उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष चयन गर्नेछ ।
कार्यसमितिको बैठकले १ महिला सहित ३ जना र १ जना मानर्थ सदस्य मनोनित गर्ने व्यवस्था छ । बजार क्षेत्र, एशोसियट र बस्तुगत तर्फको अधिवेशनबाट १९ जना कार्यसमिति सदस्य चयन भैसकेका छन् ।
सबै क्षेत्रमा सहमतिका आधारमा नेतृत्व चयन भएको छ । राजनीतिक दल आस्थाका आधारमा नेकपा (एमाले) ७, राष्ट्रिय जनमोर्चा ७, नेपाली कांग्रेस ३ र माओवादी केन्द्रको तर्फबाट २ जना निर्वाचित भएका हुन् ।
अधिवेशनको अवसरमा प्यूठान नगर बजार क्षेत्र र नौबहिनी बजार क्षेत्रले आफ्नो सचिवालय भवन सिलन्यास गरेका छन् ।











