प्यूठान । प्यूठान उद्योग बाणिज्य संघ नौबहिनी बजार क्षेत्रलाई स्थानीय शंकर केसी र सकुन्तला केसीले निःशुल्क जग्गा प्रदान गर्नुभएको छ । बजार क्षेत्रको सचिवालय भवन निर्माणका लागि केसी दम्पत्तिले जग्गा प्रदान गर्नुभएको हो ।
सोमवार बजार क्षेत्रको १७ औं बार्षिक साधारण सभा तथा सातौं अधिवेशनको अवसर पारेर ३५ लाख बजार मुल्य बराबरको जग्गासँगै नगद ५० हजार रुपैंया सहयोग उपलब्ध गराउनुभएको छ । सोमवार नै सचिवालय भवन सिलन्यास गरिएको छ । गाउँपालिका अध्यक्ष दिलबहादुर थापाले सिलन्यास गर्नुभएको हो ।
भवन निर्माणका लागि प्यूठान उद्योग बाणिज्य संघको तर्फबाट १ लाख रुपैंया सहयोग प्रदान गर्ने संघका अध्यक्ष पशुपति नारायण नकर्मीले बताउनुभयो । भवन सिलन्यासको अवसरमा उहाँले व्यक्तिगत रुपमा २५ हजार रुपैंया सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
अधिवेशनले रमेश केसीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा महेश थापा, सचिव कृष्ण केसी, कोषाध्यक्ष मनिषा पुन, सदस्यहरु मनबहादुर सुनार, हुमा केसी, धनिराम बुढामगर र सुरेश केसी रहनुभएको छ । जिल्ला प्रतिनिधिमा ईश्वरी प्रसाद रिजाल चयन हुनुभएको छ ।

