प्यूठान । झिमरुक गाउँपालिकाको केन्द्र मच्छीमा भैरहेको प्रथम झिमरुक कृषि, पर्यटन तथा औद्योगिक ब्यापार मेला २०८१ को आवाजले यस क्षेत्रका विद्यालयको पठनपाठनमा समस्या परेको छ ।
ठूलो ठूलो स्वरमा आवाज आउँदा कक्षा संचालन गर्नै समस्या भएको विद्यालयहरुको गुनासो छ । मच्छी बजार नजिकै रहेको एक सामुदायिक र एक संस्थागत बिद्यालयको पठनपाठनमा असर पुगको हो ।
मेलामा चर्काे स्वरमा आवाज आउँदा बिद्यार्थीको ध्यान कक्षा कोठा भन्दा बाहिर मोडिने गरेको गौमुखी सेकेण्डरी बोडिङ स्कुलका प्रिन्सिपल पदम के.सी.ले बताउनुभयो ।
अर्धबार्षिक परीक्षा नजिक आएको बेला १३ दिन लामो चल्ने मेलाले पठनपाठनमा असर पारेको विद्यार्थीहरुको गुनासो छ । पठपाठनमा समस्या आएको बिद्यार्थीको गुनासो आएपछि अनेरास्वबियुले प्यूठानले बालशिक्षा मा.बि.को ध्यानाकर्षण गराएको छ । मेला लामो समय सम्म चल्ने भएपछि समस्या समाधानका लागि बिकल्प खोज्न आग्रह गरेको अनेरास्वबियु प्यूठानका अध्यक्ष टेकराज के.सी.ले बताउनुभयो ।
यो बिषयमा गाउँपालिकाको शिक्षा शाखामा पनि गुनासो आएको शिक्षा शाखा प्रमुख मोहन बि.सी.ले बताउनुभयो । सम्वन्धीत पक्षसँग छलफल गरेर छिट्टै समाधानको उपाय खोज्ने उहाँले बताउनुभयो ।
