प्यूठान । आगामी आर्थिक वर्ष २०८१/०८२ देखि घरबाटै ब्यबसायिक फर्म दर्ता प्रक्रिया पूरा गर्ने कार्यको ब्यबस्था मिलाउने लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा सहकारी मन्त्री खड्ग बस्नेतले बताउनुभयो ।
सोमबार जस्पुरमा भएको उद्यमी तथा ब्यबसायी बीचको अन्तरक्रियामा बोल्दै उहाले लामो समयदेखी नवीकरण नभएका फर्महरु आगामी वर्ष बिशेष छुट सहित नवीकरण गर्न सकिने बताउनुभयो । पर्यटनको क्षेत्रमा सरकारले लगानी गरेको त्यसको प्रतिफल प्राप्त गर्न नसकेकोले प्रतिफल सहितको लगानीमा जोड दिने उहाले बताउनुभयो ।
उद्योग कार्यालय जिल्ला मै रहेको र आगामी वर्षदेखि पर्यटन र सहकारी हेर्ने कार्यालय प्यूठानमै स्थापना गरिने समेत मन्त्री बस्नेतले उल्लेख गर्नुभयो ।
उद्योग र सहकारीहरु दर्ता, संचालन र नियमनको लागि कानुन अभाव रहेको माण्डबी गाउपालिकाका अध्यक्ष नवराज अधिकारीले बताउनुभयो । संघीयताले तीन तहको सरकार बनाए पनि कतिपय कानुन पुराना भएकोले कानुन बनाउने बाटो खोली दिन उहाले प्रदेश सरकारलाइ अनुरोध पनि गर्नुभयो ।
उद्योगि ब्यबसायीहरु निक्कै समस्यामा भएकाले राहत पुग्ने कार्यक्रम प्रदेश सरकारले ठोस रुपमा अघि बढाउनुपर्ने प्यूठान उद्योग बाणिज्य संघका अध्यक्ष पशुपति नारायण नकर्मीले बताउनुभयो । अन्तरक्रिया कार्यक्रमका बिशेष अतिथि उहाले जिल्लामा बहुउद्देश्यीय प्रदर्शनी स्थल बनाउने योजना संघले अघि बढाएकोले सहकार्यका लागि प्रदेश सरकारलाइ अनुरोध गर्नुभयो ।
उद्योग ब्यबसाय संचालन लागि सरकारले अनुदानमा भन्दा वातावरण तयार गर्नुपर्ने माण्डबी गाउपालिकाका उपाध्यक्ष पुर्ण कालाथोकीले बताउनुभयो । रोजगारी सिर्जना गर्ने उद्योगहरु संचालनका लागि स्थानीय र प्रदेश सरकारले सहकार्य गर्नुपर्ने उहाको भनाइ थियो ।
घरेलु तथा साना उद्योग कार्यालय प्यूठानको आयोजना र प्यूठान उद्योग बाणिज्य संघको समन्वयमा उद्यमी तथा ब्यबसायी बीच अन्तरक्रिया कार्यक्रम जस्पुरमा सम्पन्न भएको हो । कार्यालयका प्रमुख सरोज भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।