प्यूठान । लुम्बिनी प्रदेशसभा सदस्यका लागि प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ प्यूठानमा दुई भाई वीच ‘मित्रवत्’ प्रतिष्पर्धा देखिएको छ । दुई वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानमा १ नं. निर्वाचन क्षेत्रमा चार जना चुनावी प्रतिष्पर्धामा छन् ।
नेकपा (एमाले)का तर्फबाट पार्टी प्रदेश कमिटी सचिवालय सदस्य तथा निवर्तमान जिल्ला अध्यक्ष तुल्सीराम शर्मा र सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी) लुम्बिनी प्रदेश कमिटी सचिव कृष्ण अधिकारी प्रकाश वीच नै मुख्य प्रतिष्पर्धा हुने देखिएको हो ।
दुई पार्टी वीच भएको एकीकरण पछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शर्मा अध्यक्ष र अधिकारी सचिवको जिम्मेवारीमा थिए । लामो राजनीतिक यात्राको पृष्ठभूमि बोकेका दुवै नेता जिल्लाको समग्र विकासमा नेतृत्व र सहकार्य गर्दै आएका व्यक्ति हुन् । रोचक के भने दुई नेताको सम्बन्ध दाजु-भाईको हो । शर्मा फूपू छोरा दाई र अधिकारी मामा छोरा भाई हुन् ।
को हुन् तुल्सीराम शर्मा ?
नेकपा (एमाले)का तर्फबाट प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ बाट लुम्बिनी प्रदेश सभा सदस्यमा तुल्सीराम शर्मालाई उम्मेदवार बनाएको छ । लामो समय पार्टी जिल्लाको नेतृत्व गरी हाल लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य रहनुभएको छ ।
सरल स्वभावका तुल्सीराम शर्मा प्यूठानी माटोमा भिजेको नेता हो भन्दा अतियुक्ति नहोला । बहुदलिय व्यवस्थाको शुरुवातसँगै स्थानीय पार्टी नेतृत्व गर्दै जनप्रतिनिधि समेत अनुभव छ । जनताका समस्याहरु नजिकबाट बुझ्न सक्ने गरि खारिएका शर्माले जिल्लाको पार्टी नेतृत्व अनवरत ८ वर्ष सम्झाल्नु भयो । कसैलाई पिर्न नसक्ने नेताको रुपमा कार्यकर्ता माझ परिचित उहाँमा समकक्षी राजनीतिक दलसँग सहकार्य र समन्वय गर्न सक्ने क्षमता रहेको छ । पार्टीको कठिन र सहज दुवै परिस्थितिसँग प्रत्यक्ष साक्षात्कार गरेको अनुभवले नै उहाँलाई राजनीतिक भट्टीबाट निक्किएको अब्बल नेतृत्वको रुपमा बुझ्न सकिन्छ ।
व्यक्ति परिचय
वि.सं. २०१४ साल असोज १५ गते हालको प्यूठान जिल्ला प्यूठान नगरपालिका वडा नं. २ मा बुबा दण्डपाणी उपाध्याय र आमा धनेश्वरा देबी उपाध्यायको कोखबाट उहाँको जन्मभएको हो । उहाँले २०३६ सालमा मुक्ति हाई स्कुल रातामाटाबाट एस.एल.सी. उत्र्तिण गर्नुभएको छ । उहाँसंग भूमि सुधार कार्यालयमा जागिरको अनुभव छ । उहाँले वुवाको क्वाडीमा रहेको एक्ले पसलमा रहेको व्यापारमा सघाउँदै आउनुभयो । भालुवाङ-प्यूठान सडक नहुँदा सामान बोकेरै प्यूठानमा ल्याई पुर्याएको प्रत्यक्ष अनुभव उहाँसँग छ ।
गाविसदेखि जिल्लाहुँदै प्रदेश नेतृत्व
जिल्लामा नेकपा (एमाले)का अगुवाहरु मध्ये एक हुनुहुन्छ, तुल्सीराम शर्मा । बहुदलिय व्यवस्थाको आगमनसँगै वि.सं. २०४७ सालमा दाखाक्वाडी गाउँ कमिटीको सचिवको जिम्मेवारीमा उहाँको सांगठनिक जीवनको शुरुवात भएको हो । सोही वेला केन्द्रमा केपी शर्मा ओलीको नेतृत्वमा गठित पार्टीको युवा संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको उहाँ प्यूठान जिल्ला अध्यक्ष हुनुभयो ।
२०४८ मा सम्पन्न पहिलो जिल्ला अधिवेशनबाट पार्टी जिल्ला कमिटी सदस्य हुनुभयो । जिल्ला कमिटी सदस्य, सचिवालय सदस्यको भुमिकामा रहनुभएका उहाँ २०६५ मा सम्पन्न पार्टी छैठौं अधिवेशनबाट उपसचिव चुनिएर जिम्मेवारी सम्हाल्नुभयो । २०६६ मा भएको विशेष जिल्ला अधिवेशनले उहाँलाई पार्टी उपाध्यक्षको जिम्मेवारी प्रदान गर्यो । वि.सं. २०७० मा भएको आठौं जिल्ला अधिवेशनबाट उहाँ अध्यक्षमा निर्वाचित हुनुभयो । यस वीचमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) वीचको एकीकरण पछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समेत उहाँ अध्यक्ष कै जिम्मेवारीमा रहनुभयो । पार्टी एकीकरणमा समेत उहाँको योगदान निरन्तर एवं अविचलित रुपमा पार्टीलाई एक ढिक्का बनाउने भूमिकामा रहनुभयो । २०७८ मा भएको नवौं जिल्ला अधिवेशनबाट जिल्ला कमिटीबाट विदा लिई उहाँ प्रदेश कमिटी सचिवालय सदस्यको जिम्मवारीमा हुनुहुन्छ । पार्टीको प्रदेश संगठन कमिटीको उहाँ संस्थापक सदस्य समेत हुनुहुन्छ ।
अत्यन्तै भद्र, शालिन र शान्त स्वभाव उहाँका गुण हुन् । उहाँकै नेतृत्वकालमा चौथो स्थानमा रहेको पार्टीले आफुलाई सांगठनिक रुपमा मजबुद गराउँदै प्यूठानका तत्कालिन दुवै प्रतिनिधि सभामा जित निकाल्न सफल भएको थियो । भर्खर सम्पन्न स्थानीय तहको निर्वाचनले समेत पार्टीलाई पहिलो शक्तिको रुपमा स्थापित गरेकोछ । उहाँका समकक्षी अन्य दलका नेताहरु भन्छन्, ‘बिझाएर नबोल्ने उहाँको शैली हो, तर आफ्नो अडानमा अडिग हुनहुन्छ ।’
पाँच वर्ष पार्टीको ‘दोश्रो’ र झण्डै ८ वर्ष ‘प्रमुख’ नेतृत्वका रुपमा जिम्मेवारी सम्हाल्नुभएका उहाँसँग २०४३ सालमा निर्विरोध वडा अध्यक्ष र २०४९ मा गाविस उपाध्यक्ष भएर जनप्रतिनिधिको रुपमा कार्य सम्पादन गरेको अनुभव समेत छ । झण्डै वीस वर्ष स्थानीय तह जनप्रतिनिधि विहिनहुँदा पार्टीका तर्फबाट जिल्ला विकास समितिको सर्वदलिय संयन्त्रमा प्रतिनिधित्व गरेको अनुभवसमेत छ । प्यूठानको भूगोलसँग परिचित उहाँ यहाँका हरेक विकास निर्माणसँग प्रत्यक्ष जोडिनुभएको छ । प्रत्यक्ष अनुभवकै आधारमा प्यूठानको आवश्यकता र जनताको चाहनाबारे उहाँलाई राम्रो जानकारी छ । पार्टी नेतृत्वसँग समेत समधुर सम्वन्धमा रहनुभएका उहाँले प्रदेश सभामा आफ्नो सशक्त उपस्थिति र भूमिका निर्वाह गर्नसक्ने विश्वास गरिएको छ ।
को हुन् कृष्ण अधिकारी ‘प्रकाश’
कृष्ण अधिकारी ‘प्रकाश’को जन्म हालको माण्डवी गाउँपालिका-१ तिराम (तत्कालिन तिराम गाविस-२ तिमिले)मा वि.सं. २०२६ साल जेठ १२ गते भएको हो । २०४२ सालमा तिराम माध्यमिक विद्यालयमा अखिल १० औं (तत्कालिन मोटो मशाल) विद्यार्थि संगठनबाट राजनितिक यात्रा शुरु गर्नुभएको हो । विद्यार्थी आन्दोलनकै क्रममा २०४५ सालमा केही समय जेल जानु परेको थियो ।
२०४७ सालमा महेन्द्र बहुमुखी क्याम्पस दाङको इकाई अध्यक्ष हुनुभयो । २०५६ सालमा नेकपा (माओवादी)को जिल्ला कमिटि सदस्य, २०५८ सालमा विशेष क्षेत्र कमिटि रोल्पाको सदस्य, २०६० सालमा क्षेत्रिय सहकारी विभाग प्रमुख, २०६२ मा प्यूठान जिल्लाको सेक्रेटरी कमिटि सदस्य, २०६९ मा प्यूठान जिल्ला अध्यक्ष, २०७३ मा पोलिटव्युरो सदस्य, २०७५ सालमा एमाले र माओवादीको एकताबाट बनेको नेकपाको जिल्ला सचिव र २०७८ सालमा नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश सचिवको जिम्मेवारी सम्हाल्नुभएको छ ।
२०५६ को स्थानीय निर्वाचनमा तिराम गा.वि.स. वडा नं. २ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार बन्नुभएका प्रकाशले फराकीलो मतान्तरका साथ विजयी हुनुभएको थियो ।
प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ मा कुन-कुन क्षेत्र पर्छ ?
प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ मा सरुमारानी, माण्डवी, ऐरावती गाउँपालिका, स्वर्गद्धारी नगरपालिका, प्यूठान नगरपालिकाको १, २, ३ र ५ नं. वडा र मल्लरानी गाउँपालिकाको ५ नं. वडा पर्दछ । जिल्लाका ६४ वडा मध्य ३१ वटा वडाहरु १ नं. निर्वाचन क्षेत्रमा पर्छ । प्रदेश क्षेत्र नं. १ मा ७४ हजार ६६३ मतदाता छन् ।
