> समाज > मानसिक स्वास्थ्य : बहुसरोकारको विषय


मानसिक स्वास्थ्य : बहुसरोकारको विषय

प्युठान । जिल्लामा मानसिक स्वास्थ्य सम्वन्धि जनचेतनाको कमी देखिएको छ । मानसिक स्वास्थ्य समस्या जिल्लामा सामाजिक समस्याको रुपमा देखिएको भन्दै त्यसको समाधानका लागि पहल हुन नसकेको सरोकारवालाले बताएका हुन् ।

 

विश्व मानसिक स्वास्थ्य दिवशको अवसरमा आयोजित एक कार्यक्रममा सहभागीले मानसिक स्वास्थ्यको विषयमा जिल्लाभर जनचेतनामुलक अभियान चलाउन आवश्यक रहेकोमा जोड दिएका छन् । मानसिक स्वास्थ्य समस्याका कारण आत्महत्याको घटना हुने गरेको भन्दै आत्महत्या गर्न खोज्नेलाई बचाउनका लागि चेतनामुलक कार्यक्रम आवश्यक रहेको बताहरुको भनाई छ ।

 

प्युठानमा पछिल्लो ३ वर्षमा २ सय ५० जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय प्यूठानको तथ्यांक अनुसार अपराधका घटनाहरुमध्ये सवै भन्दा बढी आत्महत्याका घटना रहेका छन् । यसले जिल्लामा मानसिक स्वास्थ्य समस्याको अवस्था जटिल बन्दै गरेको देखाउँछ ।

 

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्वर थापाले मानसिक स्वास्थ्य देखि विविध कारणले आत्महत्याका घटना हुने गरेको बताउनुभयो । आत्महत्या न्यूनिकरणका लागि प्रहरी-समुदाय साझेदारी कार्यक्रम अन्र्तगत जिल्लामा सचेतना अभियान चलाउन थालिएको उहाँले जानकारी दिनुभयो ।

 

बालबालिका देखि जेष्ठ नागरिसम्मले आत्महत्या गरेको तथ्यांक छ । डिप्रेशनका कारण सवैभन्दा बढी व्यक्तिले आत्महत्या गरेको देखिन्छ । त्यसका अलावा अरु कारणहरु समेत रहेका छन् । आत्महत्या गर्ने कारणहरु मध्ये ७० देखी ८० प्रतिशत डिप्रेशन भएका व्यक्तिले गर्ने गरेको प्युठान अस्पतालका डा. पंकज पाठक बताउनुहुन्छ । मानसिक स्वास्थ्य समस्यालाई ध्यान नदिँदा आत्महत्याको घटना हुने गरेको भन्दै आत्महत्या रोकथाम तथा न्यूनिकरणका लागि मानसिक स्वास्थ्य समस्याको उपचार गरेर आत्महत्या गर्नबाट रोक्न सकिने डाक्टर पाठकको भनाई छ ।

 

मानसिक स्वास्थ्यको विषयमा शिक्षा र चेतना जगाउन ढिला भैसकेको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख हेमराज पाण्डे बताउनुहुन्छ । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले यसतर्फ ध्यान दिएर कार्यक्रम ल्याउनुपर्ने उहाँको भनाई छ । सन २०३० सम्म एक तिहाईले आत्महत्याको घटनालाई घटाउने लक्ष्य राखिएकोले त्यो अनुसारको अभियान चलाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

 

बदलिदो सामाजिक परिवेशका कारण मानसिक स्वास्थ्यमा समस्या भैरहेको अवस्थामा यसतर्फ ध्यान दिनुपर्ने मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रका कार्यकारी प्रमुख विजय कुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार जिल्लाको प्रमुख समस्याको रुपमा रहेको मानसिक स्वास्थ्य समस्या न्यूनिकरण गर्न स्थानीय सरकारले कदम चाल्नुपर्ने आवश्यक छ । मनोपरामर्श सेवा, सचेतना कार्यक्रमबाट आत्महत्या गर्ने व्यक्तिलाई बचाउन सकिने भएकाले यसमा ढिलाई गर्न नहुने अध्यक्ष श्रेष्ठले बताउनुभयो । त्यसका लागि व्यक्ति, परिवार र बहुसरोकारवाला निकायको भूमिका हुनुपर्ने उहाँको भनाई छ ।

 

स्वास्थ्य कार्यालय प्युठानको आयोजना तथा मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रको सहयोगमा भएको अन्र्तक्रियामा जिल्ला स्तरीय मनोसामाजिक स्वास्थ्य प्रर्वद्धन तथा व्यवस्थापन समितिका संयोजक एवं जिल्ला समन्वय समिति प्युठानका उप प्रमुख गोमा रेग्मीको अध्यक्षतामा र समन्वय प्रमुख धरम बहादुर जिसीको प्रमुख आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *