> राष्ट्रिय > आपत्तिजनक अभिव्यक्ति दिने अधिवक्ता पाण्डेलाई कारवाही गर्न मगर संघको माग


आपत्तिजनक अभिव्यक्ति दिने अधिवक्ता पाण्डेलाई कारवाही गर्न मगर संघको माग

प्युठान । आपत्तिजनक अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई कारवाही गर्न नेपाल मगर संघ प्युठानले माग गरेको छ । एक टेलिभिजन कार्यक्रममा अधिवक्ता पाण्डेले तामाङ र मगर समुदायलाई अपराधीकरण गर्नेगरी विवादास्पद अभिव्यक्ति दिएकाले कानून बमोजिम सजायको माग गर्दै जिल्ला प्रशासन कार्यालय प्युठानमा ज्ञापनपत्र बुझाइएको हो ।

 

साेमबार प्रमुख जिल्ला अधिकारी मदन कोइराला मार्फत गृह मन्त्रालय काठमाडौँमा पठाउने गरी ज्ञापनपत्र हस्तान्तरण गरिएको नेपाल मगर संघ प्युठानका अध्यक्ष देबिराम पुन मगरले बताउनुभयो ।

पाण्डेले सिङ्गो मगर र तामाङ्ग लगाएत आदिवासी समुदायको प्रथाजनित अभ्यासप्रति गलत ढंगले व्याख्या गरी आनुवांशिक रुपमा नै समस्त समुदायलाई अपराधीकरण गर्ने र मान्छेलाई जनावरसँग तुलना गर्नेगरी दिएको कपोकल्पित र भ्रामक तथा तथ्यहिन अभिाव्यक्ति आफूहरूकाे आत्मसम्मान र प्रतिष्ठामा गम्भिर चोट पुगेकाले उक्त अभिव्यक्ति प्रति आन्दोलनमा उत्रिनु परेकाे संघले जनाएको छ ।

 

सोही क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंमा शान्तिपूर्ण आन्दोलन गरिरहेका अभियन्ताहरुलाई नियन्त्रणमा लिएर यातना दिएकोमा पनि उनीहरुले आपत्ति जनाएका छन् । यातना दिने परिसरका प्रहरी प्रमुखलगायत संलग्न सबै प्रहरीलाई कारबाही गर्न माग गरिएको छ । घाइते अभियन्ताहरुलाई उपचार खर्चसहित उचित क्षतिपूर्ती दिन पनि ज्ञापनपत्रमा माग गरिएको छ । आफ्ना मागलाई सम्बाेधन नगरे कडा भन्दा कडा आन्दोलनमा उत्रिने समेत उनीहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *