प्युठान । गौमुखी गाउँपालिकाले बजार अनुगमन कार्य थालनी गरेको छ । गौमुखी गाउँपालिका वडा नम्बर ५ र ७ वडाको नारिकोट र खुङ्गमा रहेका स्थानीय पसलहरुमा अनुगमन गरिएको हो ।
गौमुखी गाउँपालिका गाउँसभाको पन्ध्रौं अधिवेशनले गरेको निर्णय अनुसार श्रावण १ गतेदेखि गाउँपालिका क्षेत्र भित्र बजारमा कमसल गुणस्तरका अर्थात (४० युपी भन्दा माथीका) मदिरा बिक्रीवितरणमा रोक लगाइएको गौमुखी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गा प्रसाद सुबेदीले बताउनुभयो ।
बजार अनुगमनलाई प्रभावकारी बनाइ कार्यान्वयनमा ल्याउन बजार अनुगमनको कार्यलाई तिब्रता दिन लागिएको गौमुखी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुबेदीले जानकारी दिनुभयो । बजारमा अखाद्य बस्तु तथा मिति गुर्जेका लेभल नगरेको सामाग्री बिक्रीवितरण गर्नाले नागरिकको स्वास्थ्य असर गर्ने भएको भन्दै यस्ता सामाग्री बिक्रीवितरणमा रोक लागाउनको लागि बजार अनुगमन कार्यलाई प्राथमिकता दिएको उहाँले बताउनुभयो ।
आइतबार नारिकोट खुङ्गका स्थानीय बजारका ४० पसल अनुगमन गरिएको थियो । बजार अनुगमनको क्रममा केही पसलमा ४० युपि भन्दा माथिको मधिरा भेटिएकोले त्यस्ता मधिरा नियन्त्रणमा लिएर नष्ट गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत सुबेदीले जानकारी दिनुभयो । पहिलो चरणमा बजार अनुगमन गर्दा कतिपय ब्यापारीले मिति गुर्जेको सामान बिक्री वितरण गरेको पाइएकोले त्यस्ता सामाग्री जफत गरि नष्ट गर्ने रअ आगामी दिनमा बिक्रीवितरण नगर्न सुझाव दिएको सुवेदीको भनाइ छ ।
हरेक महिनाको १५/१५ दिनमा पालिका भरका स्थानीय बजार अनुगमन गरिने पालिकाले जानाएको छ । अनुगमन वडा अध्यक्ष जनप्रतिनिधि बजार प्रतिनिधि प्रहरी र कर्मचारीको सहभागितामा बजार अनुगमन गरिएको थियो ।
