प्यूठान । एम्नेष्टी इन्टरनेसनल नेपाल समुह ३६ प्यूठानको आयोजनामा मानव अधिकार शिक्षा सम्वन्धि अभिमुखिकरण कार्यक्रम गरिएको छ । शनिबार कालिका विकास केन्द्र नेपालको सभाहल विजुवारमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा एम्नेष्टी इन्टरनेसनल नेपालका अध्यक्ष विपिन बुढाथोकीले एम्नेष्टीले नागरिक र राजनीतिक अधिकारको लागि मात्र नभएर आर्थिक, सांस्कृतिक, सामाजिक अधिकारको लागि काम गर्दै आएको बताउनुभयो । मानव अधिकारको क्षेत्रमा काम गर्ने एम्नेष्टीले विभिन्न अभियानहरु समेत सञ्चालन गर्दै आएको जानकारी गराउनुभयो ।
कार्यक्रममा मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले नागरिक समाजहरुसँग मिलेर स्थानीय सरकारले काम गर्न तयार रहेको बताउनुभयो । उहाँले कतिपय कानुनी समस्या र अभावका कारण नीतिगत रुपमा अगाडी बढ्न नसकेको उल्लेख गर्नुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी मेघराज सोनीले एम्नेष्टीले नागरिकलाई यसरी नै सुसुचित गर्नुपर्ने बताउनुभयो । कानुन अभावमा संविधानले दिएको अधिकार सेवाग्राहीलाई दिन नसकिएको उहाँले जानकारी गराउनुभयो ।
गैर सरकारी संस्था महासंघ प्यूठानका अध्यक्ष विजय कुमार श्रेष्ठले एम्नेष्टीले जिल्लाका अन्य गैर सरकारी संघ संस्थासँग सहकार्य गरेर अघि बढ्न सुझाव दिनुभयो । नागरिकको अधिकार कार्यान्वयन गर्न स्थानीय सरकारले चासो दिनुपर्ने उहाँको भनाई छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसी, झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलको आतिथ्यता थियो । कार्यक्रमा एम्नेष्टी इन्टरनेसनल नेपालका कार्यकारी निर्देशक निराजन थपलियाले मानवअधिकारको अवस्था र एम्नेष्टीको बारेमा जानकारी गराउनुभएको थियो ।
समुह ३६ प्यूठानका संयोजक कल्पना खड्काको अध्यक्ष, सह संयोजक शिवराज श्रेष्ठको स्वागत र सञ्चालन सचिव सुजल श्रेष्ठले गर्नुभएको थियो ।
