> राष्ट्रिय > पत्रकारलाई नहटाउन आग्रह


पत्रकारलाई नहटाउन आग्रह

प्यूठान समाचारदाता
प्यूठान, ११ बैशाख ।
कोरोना संक्रमणको बेला देशका केहि सञ्चार प्रतिष्ठानहरुले समयमा पारिश्रमिक उपलब्ध नगराउने, जागिरबाट हटाउने र न्यूनतम पारिश्रमिक लगायतका सेवा सुविधाबाट समेत बञ्चित गरेको गुनासा र समाचारहरुप्रति न्यूनतम पारिश्रमिक निर्धारण समितिले ध्यानाकर्षण जनाएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रका लागि लकडाउन भईरहेको समयमा पनि जोखिम मोलेर जनतालाई सूसुचित गर्न क्रियाशील पत्रकार, कामदार र कर्मचारीहरुलाई लकडाउन भन्दा अघिको बाँकी पारिश्रमिक र लकडाउन अवधिको पारिश्रमिक समेत उपलब्ध नगराउँदा श्रमजीवी पत्रकार र कर्मचारीहरु गम्भीर आर्थिक समस्या झेल्न बाध्य भएको भन्दै त्यसमा समितिको ध्यानाकर्षण भएको जनाएको हो ।

कतिपय पत्रकार, कामदार र कर्मचारीहरु दैनिक गुजारा चलाउन पनि समस्यामा परेका छन्, समितिका अध्यक्ष राजेन्द्र अर्यालले जारी गरेको विज्ञप्तीमा भनिएको छ, उनीहरुको यो संवेदनशीलता प्रति जिम्मेवार हुनु सञ्चार प्रतिष्ठानहरुको प्रमुख दायित्व हुन आउँछ । समितिले श्रमजीवी पत्रकार, कामदार र कर्मचारीलाई कामबाट हटाउने कार्य तत्काल रोक्न र पारिश्रमिक नपाएका पत्रकारहरुलाई अविलम्ब पारिश्रमिक उपलब्ध गराउन सम्बन्धित सञ्चारगृहलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *