प्यूठान, २५ असोज । जिल्लाा कोभिड संकट व्यवस्थापन केन्द्रको आज आइतबार बसेको बैठकले कोरोना जोखिम बढेको भन्दै दशैमा लाग्ने मेलामा रोक लगाउने निर्णय गरेको छ । कोभिड–१९ महामारीलाई मध्यनजर गर्दै जिल्लामा दशै मेलामा पूर्णतया रोक लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनुभयो ।
जिल्लामा दशैका अवसरमा मुख्यतयाः विजुलीकोट, तुषाराकोट, ओखरकोट, खैराकोट लगायत कोटघरमा हजारौंको उपस्थितीमा मेला लाग्ने गर्दछ । ती स्थानमा सामान्य रुपमा धार्मिक पुँजाआजा बाहेकका मेला गर्न रोक लगाइएको छ । ‘नित्य पुजा बाहेक जात्रा, महोत्सव, सराँए नाँच सवै बन्द गर्ने गर्ने निर्णय भयो’ उहाँले भन्नुभयो ।
त्यसैगरी, बैठकले जिल्लाका विद्यालय पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । सार्वजनिक सवारीले मापदण्ड पुरा गरे नगरेको अनुगमन सहित कारवाही गर्ने, बजार क्षेत्रलाई व्यवस्थित बनाउने निर्णय गरेको छ । मापदण्ड पुरा नगरेमा यातायात र बजारलाई सिल नै गर्ने निर्णय गरिएको प्रजिअ भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार खेलकुद, मनोरञ्जन लगायत क्षेत्रलाई समेत निषेध गरिएको छ ।
