> राजनीति > बिकासको एजेन्डामा बहस गर्न तयार छौ : एमाले नेता थापा


बिकासको एजेन्डामा बहस गर्न तयार छौ : एमाले नेता थापा

प्युठान । नेकपा(एमाले)का पोलिटब्युरो सदस्य तथा प्युठान जिल्ला इन्चार्ज सूर्य थापाले प्युठानको बिकासमा एमालेको भुमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । जिल्लाको बिकास र समृद्धिका लागि पार्टीले काम गर्दै आएको बताउनुभएको हो ।

विजया दशमी, शुभ दिपावली तथा नेपाल सम्वतको अवसरमा प्रेस चौतारी प्युठानले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता थापाले तथ्य सहित प्युठानको बिकासमा कुन दलले के काम गरे भनेर बहस छलफल गर्न आफू तयार रहेको बताउनुभयो । एमालेले २०७० को निर्वाचन पछि जिल्लाका धेरै योजनाहरु अघि बढाएको उहाँको भनाई छ ।
स्वर्गद्वारीमा सडकको पहुँच, प्युठानको पर्यटन, मदन भण्डारी राजमार्ग लगायत बिकासको काम एमालेले गरेको नेता थापाको भनाई छ । ०७० पछि प्युठानमा बिकास बजेट बिगतको तुलनामा बढेको भन्दै जिल्लाको बिकासंग एमाले जोडिएको उल्लेख गर्नुभयो ।

नेता थापाले प्युठानमा पर्यटनको सम्भावना धेरै रहेको भन्दै त्यसको प्रवर्द्धनका लागि स्वर्गद्वारीको सहि रुपमा बिकास गर्नुपर्नेमा जोड दिनुभयो । स्वर्गद्वारीलाई लक्षित गरेर बिमानस्थल, केबुलकार अगाडि बढाउन सके बिदेशी पर्यटकको आवागमन बढ्ने उहाँको भनाइ छ ।

एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यको प्रस्तावित उम्मेदवार समेत रहेका थापाले जिल्लाको आवश्यकतालाई ख्याल गर्दै प्रतिबद्धता बनाउने जानकारी दिनुभयो । अहिलेसम्म गरेको काम र आगामी दिनमा गर्ने काम सहित प्रतिबद्धता बनाउने तयारीमा रहेको उहाँको भनाई छ ।


कार्यक्रममा प्रदेशसभा तर्फ प्रस्तावित उम्मेदवार हरि रिजाल र तुल्सिराम शर्मा, एमाले जिल्ला अध्यक्ष बिजय बिराज बिष्टले पत्रकारिता जगतले सहि सूचना जनतामाझ पुर्याउनुपर्ने बताउनुभयो । बिकास र समृद्धिका बिषयमा बहस चलाउन पनि आग्रह गर्नुभयो ।


चौतारी प्युठानका अध्यक्ष बासुदेब गिरीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ, पत्रकार संघसंगठनका प्रतिनिधि लगायतको सहभागिता थियो । कार्यक्रमको संचालन सचिब राम बहादुर बिश्वकर्माले गर्नुभएको थियो ।