राष्ट्रियसमाज

प्यूठानमा मतदान स्थल र मतदाता थपिए

प्यूठान । जिल्लामा पाँच वटा मतदान स्थल थप भएका छन् । मतदातालाई मतदान गर्न पाएक नपरेका स्थानमा मतदान स्थल थप गरिएको छ ।

मल्लरानी गाउँपालिकाको २ नम्वर वडा कार्यालय कुँडारा, प्युठान नगरपालिका-८ जनता मावि बाग्दुला, स्वर्गद्वारी नगरपालिका-३ स्थित स्वर्गद्धारी नेरा आधारभुत विद्यालय, स्वर्गद्वारी नगरपालिका-७ स्थित ज्ञानप्रकाश आधारभुत विद्यालय सल्लेरीखर्क, नौबहिनी गाउँपालिका-१ को सुर्यज्योती प्रावि चौतारामा मतदान स्थल थप गरिएको हो ।

त्यसैगरि गौमुखी गाउँपालिकाको भानु प्रावि दशमुरेको मतदान स्थल खारेज भएर गौमुखी गाउँपालिका-५ स्थित खाल सामुदायिक स्वास्थ्य इकाईमा मतदान स्थल थप भएको हो । जिल्लाबाट पठाएको सिफारिस अनुसार मतदान केन्द्र र स्थल थपघट भएको निर्वाचन कार्यालय प्युठानले जनाएको छ । जिल्लामा एक सय ५६ मतदान स्थल र दुई सय २३ मतदान केन्द्र भएका छन् ।

जिल्लामा आगामी हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि मतदाता समेत थपिएका छन् । स्थानीय तह निर्वाचन २०७९ को भन्दा थप चार सय १४ जना मतदाता थप भएको जिल्ला निर्वाचन अधिकारी देविराम पाठकले जानकारी दिनुभयो । अहिले एक लाख ५९ हजार ७६० मतदाता पुगेका छन् । जसमा एक जना अन्य, ८१ हजार नौ सय ९० महिला र ७७ हजार ७६९ पुरुष मतदाता रहेका छन् ।
“स्थानीय तहको निर्वाचनपछि दुई हजार दुई सय २२ जनाको मतदाता नामावली थप भएको थियो, जिल्ला निर्वाचन अधिकारी पाठकले भन्नुभयो, “मृत्यु भएका, दोहोरिएका मतदाताको नाम हटाइएको हो ।”

Related Articles

Back to top button