> राष्ट्रिय > भीडभाड हुने गतिविधि नगर्न डीसीसीएमसीको आग्रह


भीडभाड हुने गतिविधि नगर्न डीसीसीएमसीको आग्रह

प्यूठान, १८ चैत । कोरोनाको जोखिम कम गर्न जिल्लामा भीडभाड हुने गतिविधि नगर्न जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र(डीसीसीएमसी)ले आग्रह गरेको छ ।

कोभिड १९ संक्रमण रोक्नका लागि सवै सरोकारवालालाई आ-आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरेको हो । केन्द्रको मंगलबार बसेको बैठकले संक्रमण रोक्न विद्यालय तथा अन्य संघसंस्थालाई खेलकुद प्रतियोगिता, जिल्ला बाहिर हुने शैक्षिक भ्रमण, अवलोकन भ्रमण जस्ता कार्यक्रम नगर्न नगराउन अनुरोध गरेको छ ।

बैठकले विद्यालयहरुमा शिक्षक, विद्यार्थीहरुले मास्कको अनिवार्य प्रयोग गर्न, साबुनपानीले हात धुने व्यवस्था र सामाजिक दुरी कायम गरी पठनपाठनको व्यवस्था मिलाउन स्थानीय तहले सहजीकरण गर्ने निणर्य गरेको केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो ।

 

त्यस्तै भारत तथा तेश्रो मुलुकबाट आउने व्यक्तिहरुलाई जिल्ला प्रवेशको मुख्य नाका दर्भानमा प्रहरी चौकी ढुङ्गेगढीले अभिलेख राखीनेछ । उक्त अभिलेखको आधारमा सम्बन्धित स्थानीय तहलाई जानकारी दिने, स्थानीय तहले आ-आफ्नै घरमै क्वारेन्टिन/आईसोलेसनमा बस्ने व्यवस्था मिलाउने निणर्य बैठकले गरेको उहाँले बताउनुभयो ।

 

कोभिड १९ संक्रमणको संभावनालाई मध्यनजर गरी स्थानीय तहहरुबाट पहिले सञ्चालन गरेका क्वारेन्टिन, आईसोलेसन केन्द्र, कोभिड १९ अस्थायी अस्पताललाई तयारी अवस्थामा राख्ने, अत्यावश्यक औषधी र व्यक्तिगत सुरक्षा सामाग्रीको व्यवस्थापन गर्ने निणर्य समेत भएको छ ।

 

उद्योगी, व्यपारी, यातायात व्यवसायी, उपभोक्ता, ग्राहक लगायत आम नागरिकहरुमा अनावश्यक भिडभाड नगर्न, बाहिर निस्कदा मास्कको अनिवार्य प्रयोग गर्ने, सेनिटाईजरको प्रयोग गर्ने, सामाजिक दुरी कायम गरि स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न समेत अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *