> समाज > ललितपुरदेखि बाहानेसम्म ६ दिनको पैदल यात्रा


ललितपुरदेखि बाहानेसम्म ६ दिनको पैदल यात्रा

महेश थापा ‘आभास’
बाहाने (प्यूठान), ३ बैशाख ।
प्यूठानको नौबहिनी गाउँपालिका–७ पातचौर पोखराका जेमबहादुर घर्तिमगर ललितपुरबाट पैदल आज प्यूठान आईपुग्नु भएको छ । ललितपुरको गोदावरीमा भ्यू टावर निर्माणको काम गरिरहनुभएका घर्ति लक डाउनका कारण काम बन्द भएपछि घर फर्किनुभएको हो ।

४४ वर्षिय उहाँ ६ दिन अघि सँगै काम गर्ने ५६ वर्षिय नगरबहादुर घर्तिमगरसँगै पैदल यात्रा तय गर्नुभएको हो । ‘वुटवल आसपासको प्रतिक्षालयमा सँगै सुतेका थियौं ।’ ,उहाँले भन्नुभयो, ‘बाजे नाता पर्ने उहाँ विहान अवेरसम्म सुतेपछि आउँदै गर्नु भनेर म हिँडे ।’

बाटोमा विभिन्न संघसस्थाले दिएको चाउचाउ, विस्कुट खाँदै आएको उहाँले बताउनुभयो । घरमा मकै छर्ने समय भएकाले हिड्नु परेको उहाँले बाध्यता सुनाउनुभयो । ‘बर्षभरी खान मकैं छर्ने कोहि छैनन् घरमा ।’ ,उहाँले भन्नुभयो, ‘बारी बाँझो हुने चिन्ता र उता काम पनि नभएपछि हिड्नु प¥यो ।’ बाटोमा चौपारी, प्रतिक्षालयमा रात काट्दै ६ दिनपछि आज विहान बल्लेखोलामा आफन्तकोमा खाना खाएको उहाँले बताउनुभयो ।

घर्तिलाई नौबहिनी गाउँपालिकाले क्वारेन्टाईनमा राखेको छ । योसँगै क्वारेन्टाईनमा बस्नेको संख्या ५ पुगेको छ । हिजो काठमाण्डौंबाटै साईकलमा आएका ४ जनालाई गंगा मा.वि. बाहानेमा बनाईएको क्वारेन्टाईनमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!