प्यूठान । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्यूठान नगरपालिका-८ दम्तीमा निर्माण भएको विद्युत सव-स्टेशन सञ्चालन (चार्ज) गर्न क्षेत्रिय कार्यालयलाई निर्देशन दिनुभएको छ ।
सव-स्टेशन सञ्चालनमा नआउँदा जिल्लावासीले भोग्नुपरेको समस्याबारे झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले घिसिङलाई ध्यानाकर्षण पत्र बुझाएपछि उहाँले क्षेत्रिय कार्यालय नेपालगञ्जलाई काम गर्न निर्देशन दिनुभएको हो ।
“सव-स्टेशन यथासक्य चाडो चार्ज गराउन क्षेत्रिय कार्यालय नेपालगञ्जका प्रमुखलाई निर्देशन दिनुभयो,” उपाध्यक्ष पोख्रेलले भन्नुभयो, “निर्माण व्यवसायीले काम नगरे ठेक्का सम्झौता तोडेर भएपनि काम गर्न भन्नुभएको छ ।”
त्यसैगरि दम्तीदेखी क्वाडीसम्मको बजार क्षेत्रमा रहेको नाङ्गो वितरण लाईन हटाएर कालो तार (कभर कन्डक्टेड वायर) राख्न समेत निर्देशन दिनुभएको छ । तार प्राधिकरणसँग स्टकमा रहेकाले छिटो काम गर्न निर्देशन दिनुभएको उपाध्यक्ष पोख्रेलले प्यूठान समाचारलाई जानकारी दिनुभयो ।