प्यूठान । स्वास्थ्य सेवा पहुँच पुर्याउन खोलिएका स्वास्थ्य संस्था बन्द भएका छन् । स्वर्गद्वारी नगरपालिका र माण्डवी गाउँपालिकाले करारका कर्मचारी हटाएपछि स्वास्थ्य संस्था बन्द भएका हुन् ।
स्वर्गद्वारी नगरपालिका-५ स्थित डाँडागाउँ शहरी स्वास्थ्य केन्द्र बन्द भएको छ भने वडा नम्वर ४ स्थित गोठिवाङ स्वास्थ्य चौकीको प्रसुती सेवा प्रभावित भएको छ । “शहरी स्वास्थ्य केन्द्रमा १ जना अहेव र एक जना कार्यालय सहयोगीको दरवन्दी थियो,” स्वास्थ्य शाखा प्रमुख दल बहादुर केसीले भन्नुभयो, “नगरकार्यपालिकाको निणर्यले कर्मचारी हटाएपछि साउन १ गतेदेखि स्वास्थ्य संस्था बन्द भएको छ ।”
स्वास्थ्य संस्थामा कार्यरत रहेका स्वास्थ्यकर्मी र कार्यालय सहयोगी गरि २१ जना करार कर्मचारी हटेपछि स्वास्थ्य सेवा प्रवाहमा ठूलो समस्या भएको स्वास्थ्य शाखा प्रमुख केसीको भनाई छ । “कर्मचारी सरुवा भएर जाँदा पहिले नँै कर्मचारी अभाव थियो,” उहाँले भन्नुभयो, “अहिलेको निणर्यले थप समस्या भएको छ ।” कर्मचारी हटाउँदा अन्य स्वास्थ्य संस्थामा रहेको बर्थिङ सेन्टर चलाउन समेत गाह्रो भएको उहाँले जानकारी दिनुभयो । स्वर्गद्वारीले ३४ जना कर्मचारी हटाएको छ ।
त्यसैगरि, माण्डवी गाउँपालिकाको तिग्रा सामुदायिक स्वास्थ्य केन्द्रको सेवा बन्द भएको छ । स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी र सहयोगी हटाउँदा सेवा बन्द हुन पुगेको हो । माण्डवीले स्वास्थ्य संस्थामा कार्यरत आठ जना स्वास्थ्यकर्मी तथा कर्मचारी सहित २१ जनालाई हटाएको छ ।