प्यूठान । जिल्ला प्रहरी कार्यालय प्यूठानमा पछिल्लो तीन महिनामा ५० वटा मुद्धा दर्ता भएका छन् । असोजदेखि मंसिर मसान्तसम्म दर्ता भएका मुद्धा मध्ये १३ वटा फछ्यौट भई ३७ वटा बाँकी छन् ।
यो तीन महिनाको अवधिमा ज्यान सम्वन्धी ३, सवारी ज्यान ४, बहुबिवाह २, भवितव्य ज्यान ८, जबरजस्तीकरणी ४, झण्डीएर आत्महत्या २४, कर्तव्य ज्यान ३, अभद्र व्यवहार १ र ज्यान मार्ने उद्योग सम्वन्धी १ वटा मुद्धा दर्ता भएको प्यूठान प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नरहरी अधिकारीले जानकारी दिनुभयो । जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट फरार प्यूठान जिल्ला ठेगाना भएका १८ जना मध्ये ७ जनालाई यो अवधिमा पक्राउ गरिएको उहाँले बताउनुभयो ।
असोजदेखि मंसिर महिनासम्म ६६८ वटा ट्राफिक कारवाहीबाट ८ लाख ६४ हजार रुपैंया राजश्व संकलन भएको छ । शान्ति सुरक्षाका कामसँगै सर्जमिन सम्बन्धी कार्य समेत सम्पादन गरिएको डिएसपी अधिकारीले जानकारी दिनुभयो । यस अवधिमा २५ वटा नागरिकता मुचुल्का, ३ वटा मृगौला प्रयारोपन सम्वन्धी र ५ वटा विपद सम्बन्धी मुचुल्का तयार गरिएको छ ।
सरकारले घोषणा गरेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरि सुरक्षा योजना बनाउने कार्य भैरहेको उहाँले जानकारी दिनुभयो । मतदान स्थलहरुको स्थलगत अध्ययन, सुरक्षा संवेदनशिलताका विषयमा समेत योजना निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । कार्यालयबाट पछिल्लो तीन महिनामा सम्पादन भएका काम कार्वाहीका बारेमा पत्रकारहरुसँग छलफल गरिएको थियो ।
