प्यूठान, १४ जेठ । प्यूठानमा जारी निषेधाज्ञा(लकडाउन) पुनः थपिएको छ ।
जिल्ला स्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्रले तेस्रो पटक लकडाउनको समय थपेको हो ।

शुक्रबार बसेको केन्द्रको बैठकले जेठ मसान्तसम्म लकडाउनको समय थप गर्ने निणर्य गरेको हो । यसअघि जेठ १५ गतेसम्म लकडाउन गर्ने केन्द्रले निणर्य गरेको थियो ।
बैठकले सङ्क्रमण रोकथा, नियन्त्रण, निदान र उपचारको कार्यलाई समन्वयात्मक रुपमा अघि बढाउने समेत निणर्य गरेको छ । संभाव्य सङ्क्रमित पहिचानका गर्न स्थानीय तहहरु मार्फत एन्टिजिन परीक्षणका लागि स्वास्थ्य कार्यालय प्यूठानले सहजीकरण गर्ने निणर्य भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो ।
स्थानीय तहरुको विकास निर्माणका काम, किसानहरुको खेतीपातीका काम गर्दा स्वास्थ्य मापदण्ड अपनाएर अघि बढाउन बैठकले आग्रह गरेको छ । शुक्रबारसम्म ३६४ सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । दोस्रो चरणमा ४१ जना सङ्क्रमित व्यक्तिको मृत्यु भइसकेको सूचना अधिकारी पुष्कल श्रेष्ठले जानकारी दिनुभयो ।




