> समाज > प्यूठानमा प्रधानमन्त्री रोजगार कार्यक्रम : तीन हजार जनाले रोजगारी पाउँदै


प्यूठानमा प्रधानमन्त्री रोजगार कार्यक्रम : तीन हजार जनाले रोजगारी पाउँदै

प्यूठान, १५ फागुन । यस वर्षका लागि निर्धारण गरिएको बजेट तथा कार्यक्रम अनुरुप प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । कम्तीमा पनि एक सय दिन बराबारको रोजगारी दिने उदेश्य सहित जिल्लाका ९ वटा स्थानीय तहमा कार्यक्रम अघि बढेको हो ।

 


जिल्लाभर दुई हजार नौ सय ४५ जना व्यक्तिले यो वर्ष एक सय दिन बराबरको रोजगारी पाउँदैछन् । श्रममुलक योजना निर्माणको काममा उनीहरुले काम गर्नेछन् । जिल्लाका धेरैजसो स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा गइसकेको छ ।

 

प्यूठान नगरपालिकामा ४९६ जनालाई रोजगारी दिने गरि कार्यक्रम सुभारम्भ गरिएको छ । मानव स्रोतको प्रयोग हुने आयोजनाहरु सञ्चालन गरि स्थानीय तहले कार्यक्रम सञ्चालन गरेका छन् ।

 

मल्लरानी गाउँपालिकामा एक करोड ४४ लाख ७६ हजार रुपियाँ कार्यक्रमका लागि विनियोजन गरिएको छ । “२८० जना बेरोजगार व्यक्ति छनौट भएका छन,” प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले प्यूठानसमाचारसँग भन्नुभयो,“पालिकाभित्र ४७ वटा योजना तय भएका छन ।”

 

सरुमारानी गाउँपालिकाले २५४ जनालाई यस वर्ष एक सय दिन बराबरको रोजगारी दिन थालेको छ । कार्यक्रम अन्र्तगत सञ्चालन हुने आयोजनाको इस्टिमेट तयारी भइरहेको रोजगार सङ्योजक अनुस्का महतोले जानकारी दिनुभयो । सडक नाली, कुलो, बाटो, कम्पाउण्ड वाल निर्माण तथा मर्मत लगायतका योजना रहेको उहाँले बताउनुभयो ।

 

प्रधानमन्त्री रोजगार कार्यक्रममा दैनिक ५१७ रुपिँया ज्याला निर्धारण गरिएको छ । यस वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम शतप्रतिशत ज्यालामा खर्च गर्नुपर्ने प्रावधान रहेको छ । एक करोड १० लाख १३ हजार रुपियाँ कार्यक्रमबाट प्राप्त भएको सङ्योजक महतोले जानकारी दिनुभयो । कार्यक्रमका लागि पालिकाले एक करोड ८१ लाख रुपियाँ थप विनियोजन गरेको छ ।

 

नौबहिनी गाउँपालिकाले ४५२ जना व्यक्तिलाई एक सय दिन बराबरको रोजगार दिँदैछ । रोजगार सङ्योजक विक्की घिमिरेले कार्यक्रम अन्र्तगत दुई करोड ३३ लाख ६९ हजार रुपियाँ विनियोजन भएको जानकारी दिनुभयो । “धेरै वडामा काम शुरु भइसकेको छ,” उहाँले प्यूठानसमाचारसँग भन्नुभयो,“४३ वटा योजना छनौट गरिएको छ ।”

 

माण्डवी गाउँपालिकामा यस वर्ष कार्यक्रम अन्र्तगत एक करोड ५६ लाख रुपियाँ विनियोजन भएको छ । जसबाट पालिकाका २८० जना व्यक्तिले एक सय दिन बराबारको रोजगारी पाउँदैछन् । पालिकाभित्र जम्मा ३५ वटा योजना छनौट गरिएको प्रमुख प्रशासकीय अधिकृत शिसिर रिजालले जानकारी दिनुभयो ।

 

ऐरावती गाउँपालिकाका रोजगार सङ्योजक विनोद त्रिपाठीका अनुसार २१७ जना बेरोजगार व्यक्ति छनौट भएका छन् । कार्यक्रमका लागि यस वर्ष एक करोड १२ लाख १९ हजार रुपियाँ विनियोजन भएको उहाँले जानकारी दिनुभयो । पालिकाभित्र ३२ वटा योजना छनौट भएका छन् ।

गौमुखी गाउँपालिकामा यो वर्ष २८५ जना व्यक्तिलाई रोजगारी दिन थालिएको छ । जसका लागि एक करोड ४७ लाख ३४ हजार पाँच सय रुपियाँ विनियोजन भएको प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले जानकारी दिनुभयो । प्रत्येक वडामा तीन वटा योजना छनौट गरिएको उहाँले बताउनुभयो ।

 

झिमरुक गाउँपालिकामा ३९७ जनाले रोजगारी पाउँदैछन् । दुई करोड पाँच लाख २४ हजार नौ सय रुपियाँ बजेट विनियोजन भएको रोजगार सङ्योजक सुदर्शक जिसीले जानकारी दिनुभयो । १६८ वटा योजना छनौट गरिएको समेत उहाँले बताउनुभयो ।

 

स्वर्गद्धारी नगरपालिकामा यो वर्ष २८४ जनालाई रोजगारी दिने लक्ष्य रहेको छ । जसका लागि एक करोड ४६ लाख ८२ हजार आठ सय रुपियाँ बजेट विनियोजन गरिएको छ । कार्यक्रम अन्र्तगत १८ वटा योजना छनौट गरिएको रोजगार सङ्योजक राजेन्द्र खड्काले जानकारी दिनुभयो ।