समाज

दहखोलामा सिद्ध मन्दिर उद्घाटनसँगै दशनामी गिरीहरूको कुलपूजा हुँदै

प्यूठान । जिल्लाको झिमरुक गाउँपालिका–६, दहखोलामा नवनिर्मित श्री सिद्ध मन्दिरको उद्घाटनसँगै दशनामी महन्त गिरीहरूको परम्परागत कुलपूजा आयोजना हुने भएको छ। धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको उक्त कार्यक्रम भोलि (कात्तिक २८ गते) सम्पन्न हुन लागेको हो।

मन्दिर व्यवस्थापन समितिका अनुसार बिहान ११ बजे हुने उद्घाटन समारोह झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलको विशेष आतिथ्यता रहनेछ भने वडा अध्यक्ष धनबहादुर पुनसहित वडाका जनप्रतिनिधिहरूको समेत उपस्थिति रहनेछ।

मन्दिर उद्घाटनसँगै सोही दिन दहखालाका दशनामी महन्त गिरीहरूको परम्परागत कुलपूजा गरिनेछ। कुलपूजाका अवसरमा नियमित पूजाआजा, लिङ्गो फेर्ने लगायतका धार्मिक विधि सम्पन्न गरिने मन्दिर व्यवस्थापन समितिका सचिव पूर्णलाल गिरीले जानकारी दिनुभयो।

यस कुलपूजाको विशेषता पशुबलि नदिने परम्परा हो। हिंसा, हत्या र मारकाट त्याग्दै शान्तिको कामना गर्ने धार्मिक मान्यताअनुसार कुलपूजामा पशुबलि नदिने गरिएको बताइएको छ। पूजाआजा तथा लिङ्गो फेर्ने विधि सम्पन्न भएपछि हलुवा, खिर, रोटी, तरकारी, अचार, दहीलगायतका परिकार प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहेको छ।

कार्यक्रमकै अवसरमा मन्दिर निर्माण तथा व्यवस्थापनमा आर्थिक एवं अन्य सहयोग पुर्‍याउने दाताहरूको नाम समावेश गरिएको शिलालेखसमेत अनावरण गरिनेछ।

मन्दिर उद्घाटन तथा कुलपूजा कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। समितिले स्थानीयवासी, श्रद्धालु भक्तजन, दशनामी महन्त गिरी परिवार, निमन्त्रणा गरिएका अतिथि तथा सम्पूर्ण शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई धार्मिक तथा सांस्कृतिक समारोहलाई सफल बनाउन आग्रह गरेको छ ।

नवनिर्मित मन्दिरको उद्घाटन र पुस्तौँदेखि चल्दै आएको कुलपूजाले दहखोलाको धार्मिक तथा सांस्कृतिक पहिचान संरक्षणमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।

Related Articles

Back to top button