खेलकुद

चौथो अध्यक्ष कप सम्पन्न, तीनवटै विधामा माण्डवी–३ नयाँगाउँको उत्कृष्ट प्रदर्शन

प्यूठान । माण्डवी गाउँपालिका–जस्पुरको आयोजनामा मंगलबारदेखि सुरु भएको चौथो अध्यक्ष कप खेलकुद प्रतियोगिता आज सम्पन्न भएको छ। प्रतियोगितामा पुरुष भलिबल, महिला भलिबल र क्रिकेट विधामा प्रतिस्पर्धा गराइएको थियो

सम्पन्न प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ माण्डवी गाउँपालिका–५ रम्दी प्रथम भएको छ। माण्डवी–१ तिराम द्वितीय र माण्डवी–३ नयाँगाउँ तृतीय भएका छन्।
त्यसैगरी पुरुष भलिबलतर्फ माण्डवी–३ नयाँगाउँको ‘ए’ टिमले प्रथम स्थान हासिल गरेको छ। माण्डवी–२ मर्कावाङको ‘ए’ टिम द्वितीय र माण्डवी–४ उदयपुरकोटको ‘बी’ टिम तृतीय भएका छन्।

क्रिकेट प्रतियोगितातर्फ माण्डवी–३ नयाँगाउँ प्रथम भएको छ। माण्डवी–४ उदयपुरकोट द्वितीय र माण्डवी–५ रम्दी तृतीय भएका छन्।
प्रतियोगिताका विभिन्न विधामा उत्कृष्ट खेलाडीसमेत छनोट गरिएको छ। जसअनुसार महिला भलिबलतर्फ सिर्जना खड्का, पुरुष भलिबलतर्फ पदम केसी र क्रिकेटतर्फ गोकर्ण शर्मा उत्कृष्ट खेलाडी घोषित भएका छन्।

गाउँपालिका अध्यक्ष नमराज अधिकारी ‘रोसन’को अध्यक्षतामा भएको समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पूर्णप्रसाद कालाथोकी, वडा नं. १ का कार्यवाहक अध्यक्ष ऋषिराम अधिकारी, वडा नं. २ का अध्यक्ष प्रकाश वली, वडा नं. ३ का अध्यक्ष धनेन्द्र कार्की, वडा नं. ४ का अध्यक्ष डिलबहादुर घर्ती र वडा नं. ५ का अध्यक्ष दुर्गाप्रसाद आचार्यको उपस्थिति रहेको थियो।

त्यसैगरी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुवकुमार पोख्रेल, जनप्रतिनिधि, समाजसेवी, कर्मचारी तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो।

कर्मचारी नारायण जिसीले सञ्चालन गरेको कार्यक्रममा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गराउन भूमिका निर्वाह गर्ने रेफ्री तथा एम्पायरहरूलाई सम्मानसमेत गरिएको थियो।
प्रतियोगिताले स्थानीयस्तरमा खेलकुदको विकास, खेलाडीको प्रतिभा पहिचान तथा खेलकुदप्रतिको आकर्षण अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Related Articles

Back to top button