प्यूठान । जन्मदिनको अवसरमा हुने फजुल खर्च कटाएर विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै प्यूठानका एक परिवारले
सामाजिक कार्य मार्फत जन्मदिन मनाएको छ ।
प्यूठान नगरपालिका–२ जुम्री निवासी ‘एन्जल कपी उद्योग’का सञ्चालक सुवास खड्काले आफ्ना कान्छा छोरा सुजल खड्काको १२ औँ जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको हो ।
खड्काले माण्डवी गाउँपालिका–४ तिग्रा स्थित बागेश्वरी माध्यमिक विद्यालयका ३९ जना विद्यार्थीलाई कापी, कलम लगायतका शैक्षिक सामग्री वितरण गर्नुभयो ।
सुजल लर्निङ हेवन रिसर्च माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत छन् । छोराको जन्मदिनलाई केवल पारिवारिक उत्सवमा सीमित नगरी सामाजिक सेवासँग जोड्दै खड्का परिवारले विद्यार्थीलाई सहयोग गरेको हो ।
सुवासले आफ्ना छोराहरूको जन्मदिनको अवसरमा विगत चार–पाँच वर्षदेखि निरन्तर सामाजिक कार्य गर्दै जन्मदिन मनाउँदै आउनुभएको छ । जन्मदिनमा गरिने खर्चलाई सामाजिक काममा लगाउँदा आफूलाई थप खुसी मिल्ने खड्काको भनाइ छ ।
जन्मदिनको अवसरमा शैक्षिक सामग्री प्राप्त भएपछि बागेश्वरी माध्यमिक विद्यालयका विद्यार्थी तथा विद्यालय परिवारले खड्का परिवारप्रति आभार व्यक्त गरेका छन् ।
यस्ता सामाजिक कार्यले विद्यार्थीलाई अध्ययनप्रति थप प्रोत्साहित गर्नुका साथै जन्मदिन मनाउने संस्कृतिलाई सामाजिक उत्तरदायित्वसँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।





