> आर्थिक/बिकास > प्यूठानमा चैते धान भित्र्याउँदै किसान


प्यूठानमा चैते धान भित्र्याउँदै किसान

प्यूठान । जिल्लामा चैते धान भित्र्याउन किसानलाई भ्याइनभ्याई छ । केहि ढिलो गरि लगाइएको चैते धान पाक्न थालेपछि किसानले भित्र्याउन थालेका हुन् ।

 

प्युठान नगरपालिकाको २, ८, १०, ऐरावती गाउँपालिकाको १ र ५ नम्वर वडामा चैते धान खेती गरिएको छ । फागुनमा रोपेर असारमा बाली भित्र्याउने गरि चैते धान खेती गरिन्छ । तर यो वर्ष १५ दिन ढिला भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन प्यूठानका प्रमुख चुमानसिंह गिरीले बताउनुभयो । वर्षातको समयमा धान भित्र्याउनुपर्ने भएकाले कार्यालयले मेसिनबाट धान काट्न प्रविधि सहयोग गरेको गिरीले बताउनुभयो ।

जिल्लामा धानको उत्पादन बढाउन वर्षे धानसँगै चैते धान खेती गर्न लागिएको हो । धानको उत्पादन र उत्पादकत्व बढाउन काम गर्दै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन प्युठानले चैते धान खेतीको प्रर्वद्धन गर्दै आएको छ ।

 

परियोजना कार्यान्वय इकाई प्युठानका प्रमुख गिरीले ६ वर्षदेखि धान जोनमा कार्यक्रम गर्दै आएको बताउनुभयो । जिल्लामा छ हजार ५७५ हेक्टर क्षेत्रफलमा धान खेती गर्ने गरिएको उहाँले बताउनुभयो । धान उत्पादन बढाउन दुई हजार ७९९ हेक्टर क्षेत्रफलमा चैते धान खेती पनि गर्ने गरिएको छ ।

चैते धान खेतीले उत्पादन बढेको किसान मुक्ति पोख्रेलले बताउनुभयो । यद्यपी चैते धान खेत गर्दा वर्षातको समयमा भित्र्याउनुपर्ने भएकाले समस्या हुने गरेको उहाँको भनाई छ । त्यसका लागि सरकारले ट्रष्टको व्यवस्था गर्नुपर्ने उहाँको माग छ ।

चैते धानका लागि चैते ५, हर्दिनाथ १ र हर्दिनाथ ३ प्रयोग गरिएको छ । चैते धान खेती प्रर्वद्धनका लागि सिंचाई कुलो, मेसिन औजार, वीऊ, औषधी उपलब्ध गराउने गरिएको छ । जिल्लामा परियोजना लागु भएपछि धानमा जिङ्क प्रयोग गर्न थालिएको समेत कार्यालय प्रमुख गिरीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *