स्थानीय सरकार

नागरिकका प्रश्नमा मल्लरानी गाउँपालिकाको जवाफ, तीनबुँदे प्रतिबद्धता अनुमोदन

प्यूठान । मल्लरानी गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाइमा नागरिकले सडक, शिक्षा, स्वास्थ्यदेखि कृषि, पशुसेवा र खानेपानीसम्मका विषयमा प्रश्न, गुनासा र जिज्ञासा राखेका छन् ।

जिल्ला समन्वय समिति प्यूठानको सभाहलमा भएको सार्वजनिक सुनुवाइमा गाउँपालिकाले वर्षभरि प्रवाह गरेको सेवा, सञ्चालन गरेका विकास योजना तथा कार्यक्रम र त्यसको प्रभावकारिता बारे नागरिकले सवाल उठाएका हुन् ।

सार्वजनिक सुनुवाइमा नागरिकले शिक्षा तथा स्वास्थ्य सेवाको अवस्था, लक्षित वर्गका कार्यक्रम, दैनिक सेवा प्रवाह, सडक पूर्वाधार, कृषि तथा पशु सेवा र खानेपानीसँग सम्बन्धित समस्या तथा अपेक्षा प्रस्तुत गरेका थिए । उठेका प्रश्न तथा गुनासाको गाउँपालिका अध्यक्ष कृष्णबहादुर खड्का, उपाध्यक्ष रमेशकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत विजय पौडेल, वडा अध्यक्ष तथा शाखाका प्रमुखहरूले जवाफ दिनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विजय पौडेलले आर्थिक वर्ष २०८२/८३ मा गाउँपालिकाबाट सञ्चालन गरिएका विकास योजना, कार्यक्रम तथा सेवा प्रवाहको अवस्था बारे प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

नागरिकका सवालको जवाफ दिँदै गाउँपालिका अध्यक्ष कृष्णबहादुर खड्काले जनताको आवश्यकता र माग अनुसार गाउँपालिकाले सीमित स्रोत साधनको अधिकतम उपयोग गर्दै काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले नागरिकको अपेक्षा अनुसार सबै विकास निर्माणका काम सम्पन्न गर्न नसकिएको स्वीकार गर्दै त्यसलाई गाउँपालिकाले कामै नगरेको अर्थमा बुझ्न नहुने बताउनुभयो ।

“जनचाहनाअनुसार विकास निर्माणका सबै काम हुन नसकेका हुन सक्छन्, तर गाउँपालिकाले केही पनि काम नगरेको भन्ने होइन” ,अध्यक्ष खड्काले भन्नुभयो, “सीमित स्रोतसाधनका बीच जनताको आवश्यकता र मागअनुसार काम गर्दै आएका छौँ । आगामी दिनमा प्राप्त सुझाव र आवश्यकताका आधारमा कमी–कमजोरी सच्याउँदै अघि बढ्छौँ ।”

सार्वजनिक सुनुवाइका क्रममा उठेका सवाल तथा सुझावलाई सम्बोधन गर्न तीन बुँदे प्रतिबद्धता समेत अनुमोदन गरिएको छ । सार्वजनिक सुनुवाई मार्फत नागरिकबाट प्राप्त सुझावलाई आगामी योजना तथा सेवा प्रवाहमा समेट्ने प्रतिबद्धता गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्था, नागरिक समाज, सहकारी सञ्जाल, शिक्षक, पत्रकार तथा स्थानीय सरोकारवालाको सहभागिता थियो । मल्लरानी गाउँपालिकाको आयोजनामा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण झिमरुक नेटवर्क एण्ड मिडिया प्रा.लि. प्यूठानका जुमानसिंह केसी र पत्रकार विजय सिंह भारतीले गर्नुभएको थियो ।

Related Articles

Back to top button