स्थानीय सरकार

सरुमारानीको नीति तथा कार्यक्रम : स्थानीय तथा रैथाने बाली उत्पादनमा जोड

प्यूठान । सरुमारानी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार भएको गाउँसभाको १९ औं अधिवेशनमा अध्यक्ष झगबहादुर विश्वकर्माले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि विकास तथा बजारीकरणमा जोड दिनुभयो ।

कृषिमा आधुनिक प्रविधिको प्रयोग बढाउनुका साथै मह, कोदो, फापर, र गहत जस्ता स्थानीय तथा रैथाने बालीको उत्पादनका लागि प्रोत्साहनमुखी अनुदान र उत्कृष्ट कृषक पुरस्कारको व्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । खुला दिसामुक्त अवस्थाको सुचिश्चितता गर्दै गाउँपालिकालाई पूर्ण सरसफाईयुक्त बनाउने अभियानलाई निरन्तरता दिने नीति अघि सारिएको छ ।

‘आर्थिक–सामाजिक विकास र दिगो पूर्वाधार : समावेशी र समृद्ध सरुमारनी निर्माणको आधार’ भन्ने दीर्घकालिन सोच अनुरुपका योजनाहरु कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । सडक मर्मत तथा स्तरोन्नतीका लागि ब्याकहोलोडर खरिद गर्ने, पहिरो नियन्त्रण र दिगो सडक संजालका लागि सडकको ट्रयाक खोल्ने आयोजनाहरूमा कम्तीमा २–३ प्रतिशत बजेट बायोइन्जिनियरिङ तर्फ सुनिश्चित गर्ने नीति अख्तियार गरिएको छ ।

केन्द्रीय प्रसारण लाइन विस्तारका साथै विद्युत नपुगेका घरधुरीमा वैकल्पिक ऊर्जा र पेडाको प्राविधिक सहयोगमा स्वच्छ ऊर्जा प्रवद्र्धन कार्यक्रम संचालन गरिने भएको छ । गाउँपालिकाले विगतदेखि संचालन गर्दै आएको लोकप्रिय कार्यक्रमहरु छोरी पेवा बचत कार्यक्रम, ग वर्गका अपाङ्ग, अनाथ बालबालिका सहयोग कार्यक्रमलाई निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख छ । बैदेशिक रोजगारीबाट फर्केकाहरुको सीप र पुँजीलाई अधिकतम उपयोग गरी गाउँमा नै व्यवसायिक बनाउने नीति अख्तियार गरिएको छ ।

१५९ बुँदामा समेटिएको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरिएको गाउँपालिकाका प्रवक्ता चिन्त सोमैले जानकारी दिनुभयो ।
नीति तथा कार्यक्रमको पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहोस् ।

Related Articles

Back to top button