लिवासे । गौमुखी गाउँपालिकाले चालु आर्थिक वर्षको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा सहभागीहरुले गाउँपालिकाद्धारा सम्पादन भएका कार्यक्रम तथा सेवाप्रवाहका बारेमा जिज्ञासा तथा सुझाव राखेका थिए ।
सहभागीहरुले विद्यालयले विभिन्न वाहानामा अभिभावकसँग लिने शुल्क, पर्यटन वर्ष २०८२ को प्रभावकारिता, पालिका भित्रका सामुदायिक वनहरुको व्यवस्थापन, शिक्षक सरुवा, जग्गा बर्गिकरणको पुनः अध्ययन, उपभोक्ताले बुझिने गरी प्राविधिक स्टमेट, एसवीआई बैंक ठूलावेशीको सेवाप्रवाह, चट्याङको क्षति न्यूनिकरण, कृषकको बाली सुरक्षा र क्षतिपुर्ति, पशुस्वास्थ्य अन्तरगतको औषधी वितरण लगायतका विषय उठाएका थिए ।
कार्यक्रयममा उठेक र पूर्व प्रतिवेदनमा उठेका सवालहरुमा बारे गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरी, उपाध्यक्ष महावीर राना, प्रमुख प्रशासकीय अधिकृत घनश्याम अर्यालले जवाफ दिनुभएको थियो ।
कार्यक्रममा बोल्ने राजनीतिक दलका प्रतिनिधिहरुले कार्यक्रममा उठेका सवालहरुलाई कार्यान्वयनमा जोड दिन सुझाव दिएका थिए ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष महावीर रानाले पालिकाका सबै घरधुरीमा विजुली वत्ति पहुँच, आधारभुत अस्पताल संचालनको तयारी, एक घर एक धारा अभियान, एक घर एक करेसावारी, विद्यालय सुधार कार्यक्रम, कृषि उपज बस्तुको बजारीकरणका लागि विजुवारमा विक्रि केन्द्र संचालन गरिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा चालु आर्थिक वर्षको हालसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख प्रशासकीय अधिकृत अर्यालले भौगोलिक विकट यहाँको मुख्य चुनौती रहेको उल्लेख गर्नुभयो । पालिकाले बार्षिक योजना स्विकृत गरिसकेपछि संघीय सरकारबाट प्रयाप्त बजेट प्राप्त नभई कटौती हुँदा कार्यान्वयनमा समस्या हुने गरेको बताउनुभयो ।





